
एजेन्सी । विश्वका शीर्ष नेताहरु कोरोना भाइरसको खोप निर्माणमा ८ अर्ब डलर जुटाउन सहमत भएका छन् ।
यूरोपियन कमिसनले खोप निर्माणका लागि खडा गरिएको कोषमा एक अर्ब डलर सहयोगको घोषणा गरेको छ ।
सहयोग गर्नेमा राष्ट्रसंघ, दातृ निकायलगायतका ३० भन्दा बढी मुलुक छन् । फ्रान्स, जर्मनी र साउदी अरेबियाले ५ सय मिलियन यूरो, जापानले ८ सय मिलियन डलर र पप गायिका म्याडोनाले ११ लाख डलर सहयोग गर्ने वचन दिएकी छन् ।
सम्मेलनबाट संकलन भएको मध्ये चार अर्ब ४० करोड अमेरिकी डलर खोप निर्माणका लागि जाने जनाइएको छ ।
यस्तै दुई अर्ब डलर उपचारको खोजीका लागि र एक अर्ब ६० करोड डलर खोपको परीक्षणका लागि छुट्याइएको छ ।
यूरोपियन यूनियनको पहलमा आयोजित अनलाइन सम्मेलनमा विभिन्न ४० मुलुक र दाताहरुले भाग लिएका थिए । अमेरिका र रुसले भने सम्मेलनमा भाग लिएनन् ।
ईयू कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लायेनले सहयोग जुटेको रकमले कोरोना भाइरसविरुद्धको खोप बनाउने अभियानमा अत्यावश्यक सहकार्यलाई अघि बढाउने बताइन् ।
सहयोगले सांचो एकता र मानवता देखाएको र यो सहयोग थप आवश्यक रहेको उनको भनाई थियो ।
विश्व स्वास्थ्य संगठनले खोप या औषधि बिना कोरोना भाइरसमाथि नियन्त्रण नभएको बताउंदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्