काठमाडौं, साउन ३० । सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।
वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पबाट भएको क्षतिको पुनःनिर्माणका लागि प्राधिकरणको गठनसँगै उक्त पदमा प्रा. डा. गोविन्दराज पोखरेल, सुशील ज्ञवाली, पुनः पोखरेल, युवराज भुसाल र अहिले पुनः ज्ञवाली नियुक्त भएका हुन् ।
मन्त्रिपरिषदको मंगलबारको निर्णयअनुसार उनलाई दोस्रोपटक सो पदमा नियुक्त गरिएको हो ।
ज्ञवालीले यसअघि पनि प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतकारुपमा काम गरिसकेका छन् । उनी २०७२ साल पुस १० देखि २०७३ पुस २७ सम्म प्रमुख कार्यकारी अधिकृतकारुपमा कार्यरत् थिए ।
मन्त्रिपरिषदको असार २० गतेको निर्णयले पूर्वप्रमुख कार्यकारी अधिकृत युवराज भुसाल पदमुक्त भएपछि प्राधिकरण नेतृत्वविहीन थियो ।
प्राधिकरणमा नेतृत्व नहुँदा असार मसान्तमै सम्पन्न भएको दोस्रो किस्ता लिने म्याद के हुने ? भन्ने अन्योल छ ।
अन्योलका कारण धेरै भूकम्पपीडितले दोस्रो किस्ताको फारम भर्न नपाएको गुनासो गरेका छन् ।
प्रमुख कार्यकारी अधिकृतको अभावमा पुनःनिर्माणका नीतिगत समस्या समाधानमा प्रभाव पर्दै आएको थियो ।
प्राधिकरणको विधिसँग जानकार प्रमुख कार्यकारी अधिकृतको नियुक्ति भएपछि कार्यकारी समिति र निर्देशक समितिको बैठक बसी दोस्रो किस्ताको म्याद थपलगायत प्रक्रिया अघि बढ्ने सहप्रवक्ता मनोहर घिमिरेले बताए । रासस









प्रतिक्रिया दिनुहोस्