कहिले मिल्ला फुटपाथ व्यापारी र नगर प्रहरीको तालमेल ? « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Wed Aug 17 2022


कहिले मिल्ला फुटपाथ व्यापारी र नगर प्रहरीको तालमेल ?

विकल्प दिन व्यापारीको माग, बाटो छेक्न नपाइने सरकारी उर्दी

3.848k
Shares

काठमाडौं । सार्वजनिक स्थलमा पसल थापेर जिविकोपार्जन गर्ने होस् वा जथाभावी रूपमा पार्किङ गर्ने मोटरसाइकल अनि अनधिकृत रूपमा राखिएका विज्ञापनका होर्डिङ बोर्डहरू नै किन नहुन्, काठमाडौं महानगर अन्तर्गतको नगर प्रहरी र सम्बन्धित पक्षबीच सधैं रडाँको मच्चिन्छ ।

आफूहरूले सम्झाइ बुझाइ गर्दा नमानेपछि दिनमा चार पाँच पटकसम्म यस्ता सामानहरू हटाउने क्रम जारी रहने नगरप्रहरीको भनाइ छ । व्यापारिक प्रयोजनका सामग्रीहरू जपथ गर्ने क्रममा एकले अर्कालाई छक्याउने रित चलेको वर्षौं भइसक्यो ।

पोके, ठेलागाडा र फुटपाथमा व्यापारीसँग महानगरका प्रहरीको घम्साघम्सी दशकौंदेखि कसैलाई नौलो नलाग्ने दृश्य भइसकेको छ । महानगरमा आउने जुनसुकै नयाँ नेतृत्वले व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए पनि अझैसम्म बीसको उन्नाइस हुन सकेको छैन ।

गरी खान पाउनुपर्ने व्यापारीको तर्क र बाटो छेक्न नपाइने सरकारी उर्दीबीच कहिल्यै तालमेल मिलेको छैन । सानो पूँजी भएका व्यापारी फुटपाथमा पसल थाप्छन्, प्रहरी आउँछ, एकछिन कुस्तीबाजी चल्छ, प्रहरीका अघि व्यापारीको केही लाग्दैन, अन्ततः उठाएर लैजान्छ ।

जो भाग्छन् उसले आफ्ना सामान पनि जोगाउँछन् । भाग्न नसक्नेको सामान जफत हुन्छ । धेरै प्रयासपछि जरिवाना तिरेर त्यो व्यापारी त्यहीँ फर्कन्छ, जहाँ उसको व्यापारको चीरहरण भएको थियो । आखिर यो लुकामारीको अन्त्य किन हुँदैन ?

अझ पछिल्लो समय त यस्ता दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि भावनात्मक सहानुभूति बटुल्ने माध्यम बन्ने गरेका छन् । यसले महानगरका सुरक्षाकर्मीप्रति सामाजिक दृष्टिकोणमा विभेद आउने खतरा बढ्दो छ ।

फुटपाथका व्यापारीहरू आक्रामक बन्ने गरेकोप्रति आफूहरू संवेदनशील रहेको काठमाडौं महनगरका नगर प्रहरी प्रमुख धनपति सापकोटा बताउनुहुन्छ । पटक–पटक चेतावनी दिँदा पनि व्यापारीले नटेरेपछि पछिल्लो समय सामान नियन्त्रणमा लिने तथा गाडा र साइकल फिर्ता नदिने योजना बनाइएको उहाँको भनाइ छ ।

नियन्त्रणमा लिइएका सामान टेकुस्थित महानगरको गोदाममा राख्ने गरिएको छ । जसमा गाडा, साइकल नष्ट गर्ने, कुहिने र चाँडै नष्ट हुने सामान भने जरिवाना तिराइ छाड्ने गरिएको नगर प्रहरी प्रमुख सापकोटा बताउनुहुन्छ ।

पैदल यात्रीलाई हिंडडुल गर्न असहज हुने गरी सार्वजनिक स्थानमा यस्ता पसल थाप्नु जायज त होइन । तर, यस्ता साना व्यवसायीको हितका लागि उपयुक्त विकल्प दिन सके साँप पनि मर्ने, लट्ठी पनि नभाँचिने हुने थियो कि ?