साफ यु–२० च्याम्पियनसिपका लागि नेपाली टोलीको तयारी « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


साफ यु–२० च्याम्पियनसिपका लागि नेपाली टोलीको तयारी

सुखद नतिजा निकाल्नेमा मुख्य प्रशिक्षक केसी आशावादी

78
Shares

काठमाडौं । भारतमा आयोजना हुने साफ यु–२० च्याम्पियनसिपका लागि यति बेला युवा टोली बन्द प्रशिक्षणमा छ । कडा मेहनत गरिरहेको युवा टोलीले साफमा इतिहास रच्ने रणनीतिकासाथ तयारीमा छ ।

देशभरबाट खुला प्रतिष्पर्धा गराई अखिल नेपाल फुटबल संघले यु–२० टोलीको निर्माण गरेको हो । कोरोना महामारीका कारण उमेर समूहका केही खेल तथा कार्यक्रममा प्रभावित हुँदा एन्फाले खुला छनोट गरेको थियो ।

सोही छनोटबाट अहिले ३० खेलाडीले दिनहुँ अभ्यास गरिहेका छन् । ललितपुरस्थित एन्फा कम्पलेक्समा उनीहरूले राम्रो नतिजाको खोजीमा अभ्यासलाई तीव्रता दिइरहेका हुन् । खेलाडीको अभ्यासबाट आफू सन्तुष्ट रहेको र राम्रो नतिजा ल्याउनेमा आशावादी रहेको मुख्य प्रशिक्षक मेघराज केसीले बताए ।

प्रशिक्षक केसीले खुला प्रतिष्पर्धामार्फत ७ सय खेलाडीबाट ४१ खेलाडी छनोट गरेका थिए । अघिल्लो साता मात्र ११ खेलाडीलाई विदाइ दिएका केसीले अहिले ३० खेलाडीलाई प्रशिक्षण गराइरहेका छन् ।

टोलीले बिहान र बेलुका गरी दुई सेसनमा प्रशिक्षण गरिरहेका छन् । छनोट हुँदा केही सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका अनुभवी खेलाडीसहित बी, सी डिभिजन खेलेका खेलाडीहरूको संयोजन भएको मुख्य प्रशिक्षक केसीको भनाइ छ ।

जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदै छन् । च्याम्पियनसिपका लागि यसअघि नै तालिका सार्वजनिक भइसकेको छ । उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ ।

भुवनेश्वरस्थित कलिङ्ग स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्ने तालिका छ । त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिष्पर्धा गर्नेछन् ।