१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


चालू आयोजनालाई मात्रै प्राथमिकता दिने भौतिक पूर्वाधार मन्त्रालयको तयारी


0
Shares

काठमाडौं, वैशाख २० । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी वर्षमा चालू आयोजनालाई मात्रै प्राथमिकता दिने तयारी गरेको छ ।

संसदको विकास तथा प्रविधि समितिले आर्थिक वर्ष २०७७/७८ को बजेटको तयारी सम्बन्धमा सोमबार गरेको छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आगामी बजेटमा राष्ट्रिय गौरवका आयोजना र चालू आयोजनालाई मात्रै प्राथमिकतामा राख्ने तयारी गरिएको जानकारी दिए ।

सरकारले नयाँ बाटो बनाउनेभन्दा पनि सडक मर्मतलाई बजेटको प्राथमिकतामा राख्ने उनको भनाइ थियो ।

समितिकी सभापति कल्याणी खड्काले तहगत समन्वयको अभावमा समस्या सिर्जना भइरहेको भन्दै आयोजना बैंकलाई व्यवस्थित बनाउनुपर्ने, उत्तर–दक्षिण करिडोर व्यवस्थित गर्नुपर्ने, नीतिगत निर्णय समयमै गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

सांसद रंगमती शाहीले मानव जीवनलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै मन्त्री र सांसदमात्रै नभइ जनतालाई खुसी पार्ने गरी काम गर्न सुझाव दिइन् ।

छलफलमा सांसदहरुले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिँदै पुरानो आयोजनालाई पनि ध्यान दिनुपर्ने बताएका थिए ।