१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


अमेरिका र टर्कीबीच आर्थिक तनाब चुलिँदै


0
Shares

काठमाडौं, साउन ३० । अमेरिका र टर्कीबीच कूटनीतिक तनाब बढिरहँदा टर्कीले अमेरिकी वस्तु आयातमाथिको करमा भारी वृद्धि गरेको छ ।

टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानले हस्ताक्षर गरेको आदेशमा कारमा १२० प्रतिशत, रक्सीजन्य पेयपदार्थमा १४० प्रतिशत र सुर्तीजन्य पदार्थमा ६० प्रतिशतसम्म कर बढाइएको छ ।

टर्कीले अमेरिकी इलेक्ट्रोनिक उत्पादनलाई यसअघि नै बहिस्कार गर्ने जनाइसकेको छ ।

अमेरिकी प्रशासनले आफ्नो मुलुकको अर्थतन्त्रमाथि प्रहार गरेको भन्दै टर्कीले पछिल्लो कदम चालेको हो ।

गत हप्तामात्र टर्कीमा एकजना अमेरिकी धर्मगुरु एन्ड्रयु ब्रुसनलाई थुनामा राखेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीबाट आयात हुने आल्मुनियम र स्टील उत्पादनको आयातमा दोब्बर कर बढाएका थिए ।

अमेरिकी कदमबाट टर्कीको मुद्रा ‘लीरा’ कमजोर भएर २० प्रतिशतसम्म गिरावट आएको छ ।

टर्किस राष्ट्रपति अर्दोगानले पादरीको विषयमा टर्कीलाई अमेरिकाले घुँडा टेकाउने प्रयास गरेको आरोप लगाए ।

टर्कीले सन् २०१६ को असफल सैनिक विद्रोहका योजनाकारहरुसँग सम्पर्क रहेको भनिएका अमेरिकी धर्मगुरु ब्रुसनलाई सुपुर्दगी गर्न अस्वीकार गरेको थियो । (एजेन्सी)