Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


एन्फाको विधान संशोधन, ‘बी’ र ‘सी’ डिभिजनमा क्लब संख्या बढाइयो


0
Shares

राजु चौधरी (इमेज)

चितवन, साउन ३० । अखिल नेपाल फुटबल संघ (एन्फा)को १७औं विशेष साधारणसभाले विधान संशोधनका साथै विभिन्न नियमावली पारित गरेको छ ।

बुधबार चितवनको सौराहामा सम्पन्न विशेष साधारणसभाले विधान संशोधन गर्दै एन्फालाई प्रादेशिक संरचनामा लैजाने निर्णय गरेको छ । योसँगै एन्फाको अब सातओटै प्रदेशमा कमिटी बन्नेछ ।

विधान संशोधनको एजेन्डा सर्वसम्मतले पारित भएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।

देश संघीय संरचनामा गइसकेकाले एन्फालाई पनि सोहीअनुरुप लैजान लागिएको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए ।

‘बी’ र ‘सी’ डिभिजनमा क्लब संख्या बढाइयो

यस्तै, एन्फाले विधान संशोधन गर्दै ‘बी’ र ‘सी’ डिभिजनमा क्लबहरुको संख्या बढाउनुका साथै निर्वाचनमा मताधिकारसमेत वृद्धि गरेको छ ।

१२ ओटा क्लब रहेको ‘बी’ डिभिजनमा अब १६ ओटा क्लबले सहभागिता जनाउने भएका छन् ।

यस्तै, ‘सी’ डिभिजनमा पनि ११ ओटा क्लबबाट बढाएर १८ ओटा क्लब पुर्‍याइएको छ ।

‘ए’ डिभिजनमा रहेका १४ ओटा क्लबलाई भने यथावत् राखिएको एन्फा प्रवक्ता राईले जानकारी दिए ।

१५ मताधिकार बढ्यो

एन्फामा मताधिकार संख्या बढाइएको छ । विधान संशोधन गर्दै एन्फाले १५ मताधिकार बढाएर ९२ पुर्‍याएको छ । यसअघि, ७७ मताधिकार रहेको थियो ।

एन्फाले ‘बी’ डिभिजनबाट दुई मताधिकार थप गरेको छ । क्लब संख्या बढाएसँगै ‘बी’ डिभिजनबाट मताधिकार थप गरिएको हो ।

यस्तै ‘सी’ डिभिजनबाट चार मताधिकार बढाइएको छ । ७ ओटा क्लब थप गरेसँगै पाँचबाट मताधिकार बढाएर ९ पुर्‍याइएको छ ।

यस्तै मोफलबाट ‘ए’ डिभिजनका लागि छनोट हुने चारओटा क्लबबाट चार मत र पाँच नयाँ जिल्लाबाट एक/एक मत गरी १५ मत वृद्धि गरिएको एन्फाका प्रवक्ता राईले जानकारी दिए ।

पाँच जिल्लामा शाखा विस्तार

एन्फाले विधान संशोधन गर्दै पाँचओटा जिल्लामा शाखा थप गरेको छ ।

एन्फाले प्रदेश नम्बर–५ मा एउटा जिल्ला, प्रदेश–६ मा दुईओटा र प्रदेश–७ मा दुई जिल्ला थप गरेको हो । यसअघि, एन्फाको ४५ जिल्लामा शाखा थियो ।

विशेष साधारणसभाबाट एन्फाले विभिन्न नियमावलीसमेत पारित गरेको छ । आर्थिक नियमावली, कर्मचारी नियमावली, एन्फा सन्चालन नियमवाली र खेलाडी दर्ता नियमावली निर्माण गरिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

सौराहास्थित होटेल सेभेन स्टारमा भएको विशेष साधारणसभामा ४५ ओटा जिल्ला संघका तीन/तीनजना, १४ ओटा ‘ए’ डिभिजन क्लबका तीन/तीनजना, चारओटा संघका तीन/तीन पर्यवेक्षकलगायतका गरी करिब ३०० जनाको सहभागिता रहेको थियो ।

विशेष साधारणसभाको बुधबारै प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका थिए ।