
काठमाडौं । नेपाली फिल्म ‘राधा’ को तीज लक्षित गीत ‘राधा पियारी’ को सुटिङ गरिएको छ ।
बुधबार पशुपति परिसरमा गीत राधा पियारीको सुटिङ गरिएको हो । गीतमा तीजको झलक देख्न सकिन्छ ।
लामो समयपछि फिल्मी क्षेत्रमा कमब्याक गरेकी प्रियंका कार्की र श्रृष्टि श्रेष्ठको गीतमा मुख्य अभिनय छ । फिल्ममा तीजको सिन रहेकोले त्यसलाई समेट्न गीत सुटिङ गरेको नायिका श्रेष्ठले बताइन् ।
उनले तीजको गीतमा नाच्न पाउँदा छुट्टै रमाइलो हुने र एउटा चाडको रुपमा सदा रही रहने भएकोले गीत सुटिङ गर्न रमाइलो भएको बताइन् ।
त्यस्तै फिल्मका निर्माता एवं नायक सौगात मल्लले निर्माता हुँदा फिल्मको सुटिङका लागि दौडिनुपरेको बताए । उनले काम फरक भएकोले यो आफ्नो लागि सिक्ने अवसर भएको भन्दै नेपाली वास्तविक कथावस्तुमा पनि फिल्म बन्नुपर्छ भनेर लगानी गरेको बताए ।
त्यस्तै गीतमा अभिनय गरेकी नायिका प्रियंका कार्कीले तीजको लागि गीत सुटिङसँगै आफू काममा फर्किन पाएकोमा खुशी व्यक्त गरिन् । उनले तीज नभएपनि आफूलाई नाच्न पाउनेबित्तिकै रमाइलो अनुभुति हुने बताइन् । उनले केही समयपछि काममा फर्किंदा पनि सहज लागेको बताइन् ।
फिल्म ‘राधा’ आगामी भदौ १० गतेबाट रिलिज हुँदैछ । सुवर्ण थापाले निर्देशन गरेको चलचित्र महिला केन्द्रित चलचित्र हो । चलचित्रमा श्रृष्टिसँगै खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्यदेव पन्त, बुद्धि तामाङ, निश्चल बस्नेत, दयाहाङ राई लगायतका कलाकारको अभिनय छ । फिल्म सौगात मल्लले निर्माण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्