Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


सिसिटिभी फुटेज डिलिट गरेको छैन : अर्थमन्त्री शर्मा


2.3k
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सिसिटिभी फुटेज डिलिट नगरेको बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले सिसिटिभी डिलिट गरेको भनेर भ्रम फैलाएको भन्दै आफूले कुनै पनि सिसिटिभी फुटेज डिलिट नगरेको बताउनुभयो ।

‘केही दिनअघि सिसिटिभी फुटेज डिलिट भ्रम फैलाइयो, त्यो होइन, कुन सिसिटिभीको क्षमता कति हुन्छ मैले कसरी थाहा पाउँछु ?’ उहाँले प्रश्न गर्नुभयो, ‘मैले त्यसको जवाफदेहिता कसरी लिन सक्छु ?’

आफूले सिसिटिभी फुटेज डिलिट नगरेको र बजेट निर्माणको क्रममा कुनै पनि अनधिकृत व्यक्तिलाई पस्न नदिएको जिकिर गर्नुभयो । बजेटले देशको आर्थिक अवस्थामा सुधार गर्ने उहाँको दाबी छ ।

अर्थ मन्त्रालयले केही दिनअघि मात्र सिसिटिभी फुटेज १३ दिनको मात्र रहने बताउँदै जेठ १४ गतेको फुटेज नभएको जनाएको थियो ।

अर्थमन्त्री शर्माले संसदीय छानविन समिति गठन भएकोप्रति आफू सकारात्मक भएको भन्दै एउटा मात्र नभएर आफू हजारौं छानविन समितिको सामना गर्न तयार रहेको बताउनुभयो । उहाँले पटक–पटक आफूले गल्ती नगरेको दोहोर्‍याउनुभयो ।

छानविन समितिलाई आफूले पूर्ण सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।