१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


कोरोनाका कारण नेपालको पर्यटन क्षेत्र धरासायी, १ खर्बको क्षति हुनसक्ने


0
Shares

काठमाडौं, बैशाख २१ । कोभिड १९ को कारण नेपालको पर्यटन क्षेत्रले हालसम्म एक खर्ब बढि रुपैयाँ बराबरको क्षती व्यहोर्न सक्ने पर्यटन बोर्डले बताएको छ । पर्यटन क्षेत्रलाई पुर्नजीवन दिने गरि सरकारबाट तत्काल राहत प्याकेज नल्याइए यो क्षेत्र धराशायी हुने चिन्ता व्यवसायीहरुमा देखिएको छ ।

कोभिड १९ को त्रास नहुँदो हो त यति बेला नेपाल भ्रमण वर्ष चलिरहेको हुने थियो । तर महामारी त्रासले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको नेपाल भ्रमण वर्ष २०२० स्थगित भयो । योसँगै पर्यटन क्षेत्रको सम्भावनाहरु नराम्ररी खुम्चिन पुग्यो ।

होटलहरु बन्द भए, पर्यटक आउन ठप्पै भयो । निजी क्षेत्रको एक खर्ब ६५ अर्ब बढी लगानी भएको यो क्षेत्र पर्यटन नराम्ररी प्रभावित हुन पुगेको छ । संचालनमा रहेका साना ठुला गरी १५ सय ७८ होटल अहिले बन्द रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । होटलहरुमा प्रत्यक्ष रुपमा आवद्ध २ लाख ७२ हजार व्यक्तिको रोजगारी संकटमा परेको छ । यो क्षतिको खाडल पुर्न तीन वर्ष लाग्ने देखिन्छ ।

सरकारले पर्यटन क्षेत्रको क्षति न्यूनिकरणका लागि तत्कालिन, अल्पकालिन र दिर्घकालीन राहत प्याकेज ल्याउन ढिला गर्ने हो भने यो क्षेत्रको पुर्नजीवनको समय झनै पर धकेलिनेछ । सरकारले राहत ल्याउन पटक्कै ढिला गर्न नहुने नेपाल पर्यटन बोर्डको धारणा छ ।

निजी क्षेत्रले पनि पर्यटन क्षेत्र जगाउन र टिकाउन तत्काल राहत प्याकेजको माग राखिरहेको छ । सरकारमाथि कोभिड १९ ले हरेक क्षेत्रमा पारेको प्रभावबाट कसरी सहज निकास दिने भन्ने चुनौति छ । स्रोतसाधनको अभावबीच नयाँ आर्थिक वर्षका लागि बजेट निर्माणमा जुटिरहेको सरकारले ल्याउने नीति र कार्यक्रमले धेरै हदसम्म पर्यटन क्षेत्रको भविष्य निर्धारण हुने देखिन्छ ।