१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


बामदेवको संसद यात्रा फेरि बहसमा


0
Shares

यज्ञराज पाण्डे (ईमेज)

काठमाडौं, बैशाख २१ । शनिबार बसेको नेकपा सचिवालय बैठकपछि नेकपा वरिष्ठ उपाध्यक्ष बामदेव गौतमको फेरि चर्चा शुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले गौतमलाई प्रतिनिधि सभाको सदस्य बनाएर प्रधानमन्त्री बनाउने लालसा प्रधानमन्त्री केपी ओलीले देखाएपछि बामदेवको चर्चा फेरि एक पटक सुरु भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम जतिको भाग्यशाली को होलान् र ? संसदीय चुनाव हारे पनि कहिले ‘सांसद’, कहिले ‘उपप्रधानमन्त्री’ त कहिले ‘प्रधानमन्त्री’ बन्ने गरेका छन्, उधारोमै भए पनि ।

उनलाई पार्टीबाटै बेलाबेलामा यस्ता प्रस्तावहरु आउने गरेका छन् र सेलाउने गरेका छन् । बर्दिया क्षेत्र नम्बर १ बाट चुनाव हारेका गौतमलाई नेकपा गठन भएदेखि नै प्रतिनिधिसभा ल्याउने चर्चा शुरु भएको थियो । कहिले डोल्पाबाट त कहिले पर्साबाट त कहिले काठमाडौँबाट त कहिले कास्कीबाट चुनाव लडाएर संसदको ढोका खोल्ने चर्चा चल्यो ।

काठमाडौँ क्षेत्र नम्बर–७ का सांसद रामवीर मानन्धरले त गौतमका लागि राजीनामा नै दिएका थिए । तैपनि गौतमका लागि ढाका खुलेन । कास्कीमा दिवंगत सांसद रवीन्द्र अधिकारीको स्थानमा गौतमलाई उठाउने चर्चा पनि नचलेको होइन ।

तर निर्णय नहुँदै अन्तरघातको चर्चा चलेपछि गौतम आफै ब्याक भए । फेरि अहिले पाल्पा क्षेत्र नम्बर १ का सांसद दलबहादुर रानालाई राजिनामा गराउने र गौतमलाई चुनाव लडाउने चर्चा शुरु भएको छ । गत निर्वाचनमा करिब साढे आठ हजार मतान्तरले चुनाव जितेका सांसद राना भने मतदातालाई स्पष्ट जवाफ दिने अवस्था नबनी क्षेत्र खाली गर्नु मतदाताको अपमान हुने बताउछन् ।

त्यसो त राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित गर्ने एक सीट खाली हुँदाहुदै गौतमलाई प्रतिनिधि सभामै लैजाने आस देखाउनु प्रधामन्त्री बन्ने उनको महत्वाकांक्षा भनाउने खेल नहोला भन्न पनि सकिदैन ।

निर्वाचित कुनै पनि प्रतिनिधिले त्यस क्षेत्रको प्रतिनिधित्व गर्न नसक्ने वा अरु कुनै गम्भीर अपराधमा मुछिए वा पदत्याग गरे मात्रै क्षेत्र खाली हुनसक्छ । तर कुनै व्यक्तिको महत्वाकांक्षा पूरा गराउन वा दलको द्वन्द व्यवस्थापनका लागि नियोजित ढंगबाट जनमतको अपमान गरिनु र राज्यशक्तिको दुरुपयोग गरिनु लोकतन्त्रकै बद्नाम हुने पूर्व निर्वाचन प्रमुख आयुक्त भोजराज पोख्रेल बताउछन् ।

त्यसो त गौतमले संसद प्रवेश गर्न मरिहत्ते गरेकाले एकपछि अर्को गर्दै बदनाम भएकोमा शंका छैन । यदि गौतम निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने मौका पाए पनि चुनाव जित्नका लागि हुने महाभारत छँदैछ । आफ्नै पद ताक्न आउने ब्यक्तिलाई चुनाव जिताउन प्रधानमन्त्री केपी ओलीले नै कत्तिको सहयोगी भूमिका खेल्लान भन्ने कुरा पनि उत्तिकै संशयको विषय हो ।