
दिपक श्रेष्ठ र राजेन्द्र नापित (ईमेज)
काठमाडौं, बैशाख २१ । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि देशभर सावधानी अपनाइरहेको बेला फोहोर व्यवस्थापनमा खटिनेहरु भने स्वास्थ्य सावधानीको खासै वास्ता नगरी काममा लागिरहेका छन् ।
फोहोर व्यवस्थापन त्यसैपनि चुनौतीको बिषय । घर घरको फोहोर अनि सडकमा जताजतै फालिएका फोहोरको डुंगुर अनि यही डुंगुरमा सम्हाल्ने जिम्मोवारी बोकेका यी नागरिकहरु ।
अघी पछी नै जिन्दगी जोखिममा रहेका उनीहरु अहिले कोरोनाको महामारीको चपेटामा परेका छन् । लकडाउनक कारण मानिसहरु अहिले आ आफ्नो घर घरमा बसिरहेका छन् ।
तर एका बिहानै होस वा कुनै समय तोकिएको स्थानमा गई फोहोर उठाउने उनीहरुको दिनचर्या भने फेरिएको छैन ।
कोरोनाबाट बच्न सावुन पानीले हरेक पटक हात धुन आब्हन गरिरहेको बेला फोहोर व्यवस्थापनमा लागेकाहरुले हात धुने अवसर कता पाउनु ? कोरोना महामारीलाई ध्यानमा राख्दै घर घरमा फोहोर लिन पुग्ने अनि बाटोको फोहोर उठाउने जोखिममा रहेकाहरुलाई सरकारले केही हदसम्म पीपीइको व्यवस्था त गरेको छ तर यो त्यति व्यवहारिक नभएको उनीहरुको भनाई छ ।
पन्जा, साधारण मास्क अनि टाउको छोप्ने सामग्री, यो त जो कोहीले पनि प्रयोग गर्ने गरेका छन् । यद्दपी फोहोर चलाउँदा यसको असर सिधै आँखा र नाकमा जाने निश्चित छ ।
अन्तराष्ट्रिय अभ्यासमा फोहोर ब्यबस्थापन गर्नेहरुलाई कोरोनाको कहरमा बिशेष सम्मान गर्ने गरिएको छ । नेपालमा भने यस क्षेत्रमा काम गर्नेहरुका लागि सरकारले हालसम्म कुनै राहतको प्याकेज ल्याएको छैन । स्वास्थ्यलाई जोखिममा राखेरै भएपनि फोहोर व्यवस्थापनमा लागेका यिनीहरुको कामलाई भने सम्मान गर्नु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्