
काठमाडौं । कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादवको नियुक्ति खारेज गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट परेको छ ।
अधिवक्ता अनुप भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका व्यक्तिलाई मन्त्री नियुक्ति गर्नु संविधानको मर्म र भावनाविपरित भएको भन्दै नियुक्ति बदर गर्न माग गर्दे रिट दायर गर्नुभएको हो ।
रिट निवेदनमा यादवलाई मन्त्री नियुक्ति गर्दा प्रयोग गरिएको संविधानको धाराले निजलाई मन्त्री हुनबाट रोक लगाएको उल्लेख गर्दै संवैधानिक व्यवस्था विपरित मन्त्री नियुक्ती गरिएकोले मन्त्री पदबाट वर्खास्त गर्न परमादेश माग गरिएको छ । यस्तै रिट निवेदनको अन्तीम टुङ्गो नलागेसम्म सिंहलाई मन्त्रीपदमा रहि कुनै पनि काम नगराउन अन्तरिम आदेश पनि माग गरिएको छ ।
सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन समय अभावका कारण दर्ता भएको छैन । सर्वोच्च अदालतका अनुुसार रिट निवेदनको दर्ता प्रक्रिया अन्तीम चरणमा पुगेको छ । असार २० गते प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाबाट तीन जनालाई मन्त्री नियुक्त गर्नुभएको थियो ।
जसमा यादवलाई कृषि तथा पशुपन्छी विकास मन्त्रीका रुपमा नियुक्त गरिएको छ । संविधानको धारा ७८ को उपधारा ४ ले तत्काल कायम रहेको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति प्रतिनिधिसभाको सो कार्यकालमा मन्त्री पदमा नियुक्तिका लागि योग्य नहुने ब्यवस्था गरेको छ ।
तर, प्रधानमन्त्री देउवाले संवैधानिक व्यवस्था विपरित तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधिसभा निर्वाचनमा पराजित यादवलाई मन्त्री नियुक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्