बझाङ, वैशाख २० । बझाङको थलारा गाउँपालिकाका ९३ जना भारतको रामपुरमा ३६ दिनदेखि अलपत्र परेका छन् । उनीहरु त्यहाँ रोकिएको ३६ दिन भएको छ ।
भारतको विभिन्न क्षेत्रबाट घर फर्कन लागेका उनीहरु भारतमा ‘लकडाउन’ भएसँगै अलपत्र परेका हुन् ।
आफूहरुले बाथरुमको पानी खाने गरेको र खाना खाएपछि बालबालिकाले बान्ता गर्ने गरेको रामपुरको एक ‘क्वारेन्टाइन’मा बसेका भरत थापाले बताएका छन् ।
उनले बिरामी परेकाहरुले औषधिको माग्दा पनि भारत सरकारले ‘१४ दिनमात्र क्वारेन्टाइनमा राख्न भनेको’ भन्दै ‘नेपाल सरकारले औषधि दिएको छैन भन्ने गरेको’ गुनासो गरेका छन् ।
क्वारेन्टाइनमा १० दिनको एक सुत्केरी, दुईजना गर्भवती, २० जना बालबालिकासहित वृद्ध–वृद्धा रहेका छन् ।
मानसिक तनावले धेरैको स्वास्थ्यमा समस्या भएको अलपत्र परेका व्यक्तिहरुले बताएका छन् ।
नेपालमा पशुचौपाया बाँध्ने गोठमा पनि आफूहरु बस्न तयार रहेको भन्दै उनीहरुले उद्धार गरिदिन नेपाल सरकारलाई आग्रह गरेका छन् ।
यता, रोकिएका स्थानीयलाई नेपाल ल्याउन पहल भइरहेको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले जानकारी दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्