१२ आश्विन २०८०, शुक्रबार | Sat Sep 30 2023


शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मूलाबारीसम्म केबलकार चलाइने


0
Shares

पूर्णप्रसाद मिश्र (रासस)

काठमाडौं, असार २ । पर्यटन प्रवद्र्धनका लागि उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–३, थानेडाँडाबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मूलाबारीसम्म केबलकार चलाइने भएको छ ।

केबलकार चलाउन नगरपालिकाले जेठ २७ गते शिवपुरी इको टुरिजम एन्ड केबलकार लिमिटेडलाई अनुमति दिएको छ ।

३.५ किमि लामो दूरीमा केबलकार चलाउन वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रिया अघि बढेको छ ।

वन तथा वातावरण मन्त्रालयले मूल्यांकन गरेपछि दुई वर्षमा केबलकार निर्माण सम्पन्न हुने जनाइएको छ ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल मण्डल पर्यटन नगरीले शनिबार आयोजना गरेको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले वातावरणीय क्षति भए पूर्ति हुने गरी केबलकार सन्चालन हुनुपर्ने बताए ।

केबलकारले स्वदेशीमात्र नभइ विदेशी पर्यटकलाई पनि यहाँ आकर्षित गर्ने उनको भनाइ थियो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले केबलकार निर्माणले धार्मिक पर्यटनसमेत प्रवद्र्धन हुने भएकाले अनुमति दिइएको सुनाए । विश्वका हिन्दू एवं बौद्ध धर्मावलम्बीलाई शिवपुरीमा आकर्षित गर्नसकिने उनको विचार थियो ।

कार्यक्रममा राष्ट्रिय सहिद तथा शान्ति स्मारकका अध्यक्ष सुदर्शन सिग्देल, पर्यटन नगरीका अध्यक्ष कृष्ण केसी, उपाध्यक्ष इन्द्र लामा, चन्द्रागिरी नगरपालिका वडा नम्बर–१ का अध्यक्ष राजन केसी, महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी प्रमुख श्यामकुमार राईलगायतले उपत्यकाको सुन्दर दृश्य देखिने शिवपुरीमा बन्ने केबलकारले स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षण गर्ने विचार राखे ।

वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन आएलगत्तै निर्माण सुरु गर्ने लिमिटेडका अध्यक्षसमेत रहेका पर्यटन नगरीका उपाध्यक्ष लामाले राससलाई जानकारी दिए ।

केबलकार निर्माण गर्न रु एक अर्ब ५० करोड लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । स्थानीयवासीलाई पनि केबलकारको सेयर वितरण गरिने लिमिटेडले जनाएको छ ।

यो केबलकार निर्माण भएपछि उपत्यकामा नयाँ संरचनाअनुसार स्थानीय तहको अनुमतिमा बनेको पहिलो केबलकार हुनेछ ।

केबलकारले गोकर्णेश्वर महादेव मन्दिर र सहिद तथा शान्ति स्मारकको पर्यटन प्रवद्र्धनमासमेत सहयोग गर्ने विश्वास गरिएको छ ।

निकुञ्जमा रहने वन्यजन्तु एवं जडीबुटी र वनस्पतिको संरक्षमा केबलकारको सन्चालनले असर नगर्ने जनाइएको छ ।

सो अवसरमा सहिद स्मारक निर्माणस्थलमा राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना, नगरप्रमुख चालिसेलगायतले वृक्षरोपणसमेत गरेका थिए ।