
अनिल तिवारी (इमेज)
वीरगन्ज, वैशाख १९ । कोरोनाभाइरसको संक्रमण फैलिन नदिन गरिएको ‘लकडाउन’को नकारात्मक असर आर्थिक क्षेत्रमा पर्दै गएको छ ।
वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहमा पनि बन्दाबन्दीका कारण सामग्री थुप्रिएका छन् भने त्यसको प्रत्यक्ष प्रभाव राजस्व संकलनमा समेत परेको छ ।
बन्दाबन्दीका कारण वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरलगायत देशभरिकै उद्योगहरु सञ्चालनमा नआउँदा भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका औद्योगिक कच्चापदार्थ सिर्सिया बन्दरगाहमै थुप्रिँदै गएको छ ।
बन्दरगाहबाट रेलमार्फत् दैनिक मालवस्तु सुक्खा बन्दरगाहमा भित्रिएपनि त्यहाँबाट निकासी कम भएकाले सिर्सिया बन्दरगाहको क्षमताभन्दा तीनगुना बढी मालवस्तु भन्डारण भएका हुन् ।
लकडाउनको ३५ भित्र ९३ रेक अर्थात् आठ हजार ३७० थान कन्टेनर सामान भित्रिएको भएपनि दैनिक १२० कन्टेनरमात्र निकासी हुने गरेको छ ।
एक हजार ५०० कन्टेनर र २० हजार मेट्रिकटन बल्क कार्गोमात्र राख्ने क्षमता भएपनि हाल चार हजारभन्दा बढी कन्टेनर र ४५ हजार मेट्रिकटनभन्दा बढी बल्क कार्गो बन्दरगाहभित्र रहेकाले काम गर्नसमेत समस्या भएको सिर्सिया सुक्खा बन्दरगाह सञ्चालन कम्पनी हिमालयन ट्रमिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले बताए ।
विभिन्न सिपिङ कम्पनी र हिमालयन ट्रमिनलले अतिरिक्त सेवा शुल्कमा छुट गरेपछि उद्योगले मालवस्तुको निकासी गर्नै छाडेको चौधरीको भनाइ रहेको छ ।
बन्दरगाहबाट हुने मालवस्तुको निकासी प्रभावित भएका कारण यसको प्रत्यक्ष प्रभाव राजश्व संकलनमा परेको छ ।
सामान्य अवस्थामा दैनिक १२ करोड रुपैयाँ राजश्व संकलन हुने गरेको थियो । तर, हाल भने दैनिक तीन करोडमात्रै संकलन भइरहेको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले जानकारी दिए ।
राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाइराख्न उद्योगलाई सञ्चालनमा ल्याउन जरुरी देखिएको छ । सरकारले लकडाउनलाई असर नपर्नेगरी काम सञ्चालन गर्नुपर्ने विज्ञहरुले बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्