१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


स्थानीयस्तरमै स्यानिटाइजर उत्पादन, निःशुल्क वितरण


0
Shares

लमही, बैशाख १९ । बजारमा अभाव भएका समयमा यहाँका युवाले स्यानिटाइजर उत्पादन शुरु गरेका छन् ।

तुलसीपुरका विभिन्न सामाजिक संस्थामा संलग्न युवाले स्यानिटाइजर उत्पादन थालेका हुन् ।

कोभिड–१९ को संक्रमणबाट बच्न साबुनपानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्नेको संख्या बढेपछि बजारमा स्यानिटाइजर अभाव भएको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघको आयोजना तथा युएसएआइडीको आर्थिक सहयोगमा तालीम लिएपछि जेसिज, रोट्याक्ट, निजी अस्पताल र महिला उद्यमीले संयुक्तरुपमा स्यानिटाइजर उत्पादन आरम्भ गरेको व्यवसायी विनिल केसीले जानकारी दिए ।

यस क्षेत्रका ५० स्वयंसेवीलाई  तालीम दिइएको र उनीहरुले पहिलो पटक एक हजार २५० लिटर स्यानिटाइजर उत्पादन गर्ने उनले बताए ।

विश्व स्वास्थ्य संगठनको मापदण्डानुसार उत्पादित स्यानिटाइजर स्थानीय सरकारको समन्वयमा तुलसीपुर उपमहानगरपालिकाका १९ वटा वडाका स्वास्थ्य संस्थालाई पहिलो चरणमा निःशुल्क वितरण गरिने उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतले जानकारी दिए । रासस