सामुदायिक विद्यालयले विद्यार्थीलाई दिने दिवा खाजा गुणस्तरहिन « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


सामुदायिक विद्यालयले विद्यार्थीलाई दिने दिवा खाजा गुणस्तरहिन


351
Shares

सिन्धुली । सिन्धुलीमा सामुदायिक विद्यालयले विद्यार्थीलाई दिने दिवा खाजा गुणस्तरहिन भएकाे पाइएकाे छ ।

स्थानीय सरकार र विद्यालयहरुको लापर्वाहीका कारणले सिन्धुली जिल्लाका केही सामुदायिक विद्यालयले विद्यार्थीलाई यस्ताे खाजा दिएका हुन् । दिवा खाजाको नाममा विद्यार्थीहरुलाई गुणस्तरहिन खाजा खुवाउने गरेको अभिभावकले गुनासो गरेका छन् । केही समय यता संघीय सरकारले देशका सामुदायिक विद्यालयहरुका प्राथमिक कक्षा (कक्षा पाँचसम्म) मा पढ्ने बालबालिकाका लागि संचालन गरेको दिवा खाजा विद्यालयका शिक्षकहरुका कारण दिनदिनै गुणस्तरहिन बन्दै गएको हो।दिवा खाजा अन्तर्गत सरकारले स्थानीय तहमार्फत प्रति विद्यार्थी दैनिक १५ रुपैयाँको दरले सामुदायिक विद्यालयलाई बजेट वितरण गर्दै आएको छ ।

तर सिन्धुली जिल्लाका कतिपय सामुदायिक विद्यालयले सो रकम अपुग भएको भन्दै विधार्थीहरुलाई रुची नहुने, सस्तो र गुणस्तरीय खाना खुवाई झारा टार्ने गरेका छन् । सरकारले प्राथमिक तहका बालबालिकाहरुको पाैष्टिक तत्वमा कमी आउन नदिन र विद्यालयमा अध्ययन गर्न रुची बढाउन सो कार्यक्रमको सुरुवात गरेतापनि विद्यालयका शिक्षक कर्मचारीहरुको लापर्वाहीले कार्बोहाइड्रेट, प्रोटिन नभएको अखाध्य खाजा खाइरहनु परेको कमलामाई नगरपालिका रानीबासका श्रीहरि बुढाथोकीले बताउनुभयाे ।

सिन्धुली जिल्लाका केही विद्यालयका प्रधानाध्यापकहरुले भने पैसा अभावका कारण विद्यार्थीलाई दालमोट, जंकफुड खुवाउन विद्यालय बाध्य भएको दावी गरेका छन् । सरकारले दिवा खाजा कार्यक्रमको बजेट स्थानीय तहहरुमा समयमै निकासा गरेतापनि स्थानीय तहहरुले आर्थिक वर्षको अन्तमा मात्रै विद्यालयका लागि निकासा गर्ने प्रचन भएकाले दिवा खाजा वितरणमा समस्या हुने गरेको देखिएको छ ।

जिल्लामा करिब ५ सय ५० सामुदायिक विद्यालयहरुमा संघीय सरकारले प्रति विद्यालय लगभग ३ लाख भन्दा बढी बजेट दिवा खाजाका लागि निकासा गर्दै आएको एक तथ्यांकले देखाएको छ ।