१७ फाल्गुन २०८०, बिहिबार | Thu Feb 29 2024


सिन्धुलीमा अकबरे खुर्सानीप्रति कृषकको आकर्षण बढ्दै

खुर्सानीबाट वर्षेनी ८० लाखको हाराहारीमा आम्दानी

221
Shares

सिन्धुली । सिन्धुलीमा अकबरे खुर्सानीप्रति कृषकको आकर्षण बढेकाे छ ।

सिन्धुली जिल्लाको महाभारत पहाड आसपासका क्षेत्रका कृषकहरुले केही समय यता व्यवसायिक रुपमा अकबरे (डल्ले) खुर्सानीकाे खेती गरेर राम्रो आम्दानी गरिरहेका छन् । शहर बजार क्षेत्रमा उपयोगका लागि माग राम्रो भएकाले खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो । सिन्धुली जिल्लाको सुनकोशी, गोलन्जोर, फिक्कल लगाएतका गाउँपालिकाका पहाभारत पहाड क्षेत्रका किसानहरुले अकबरे (डल्ले) खुर्सानी बिक्रीबाट वर्षेनी ८० लाखको हाराहारीमा आम्दानी गरिरहेको एक तथ्यांकले देखाएको छ ।

सूर्यमुखी लोकल र अन्य खुर्सानीको तुलनामा अकबरे (डल्ले) खुर्सानी मानव स्वास्थ्यका लागि फाइदाजनक भएका कारणले उच्च मूल्यमा बिक्री वितरण हुनेभएपछि कृषकहरु पछिल्लो समयमा अकबरे (डल्ले) खेती लगाउन आकर्षित भएका हुन् ।अरु खुर्सानीका तुलनामा अकबरे खुर्सानीलाई स्वास्थ्यका लागि लाभदायक मानिन्छ। अकबरेले रगतमा चिनीको मात्रा घटाउनाका साथै यसले हाडजोर्नी लगायत दुखाइलाई समेत कम गर्ने र खाना रुचाउने स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।

कबरे खुर्सानी प्रयोग गरेर बनाइएको परिकारमा किटाणुको सङ्क्रमण कम हुने र यसको सेवनबाट पिसाबको बिरामीलाई समेत फाइदा पुग्छ । यो खुर्सानीको अचार बनाएर पनि प्रयोग गर्न सकिन्छ । दैनिक जनजीवनमा उपयोगी रहेपनि पछिल्लो समय यसको रैथाने बीउ जात भने लोप हुन थालेको देखिन्छ । ठूलो गोलो लाम्चो (मिठो बास्ना आउने) जातको अकबरे खुर्सानी निकै पिरो र सबैले मन पनि पराउने गर्छन् ।

साेही खुर्सानीकाे नियमित सेवन गर्दा मोटोपना घटाउन मद्दत गर्ने, पेटसम्बन्धी रोगीलाई समेत फाइदा हुनाका साथै पेटमा हुने ग्यास्ट्रिक तथा अल्सरजस्ता रोग पनि निको हुने गर्छ।