Logo ६ माघ २०८२, मंगलबार | Wed Jan 21 2026


सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द


52
Shares

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा बन्द भएको छ ।

विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण राहदानी सेवा बन्द भएको हो । जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को व्यवस्था नहु्न्जेलसम्मका लागि सेवा बन्द भएको जनाएको छ ।

विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको भनेर राहदानी विभागबाट जानकारी आएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

बैतडीसहित बझांङ र दार्चुलामा पनि विद्युतीय राहदानी सेवा बन्द भएको भारतीले बताउनुभयो । जिल्लाको सर्भरको कनेक्सन केन्द्रको सर्भरसँग नभएकोले सेवा अवरुद्ध भएको उहाँको भनाइ छ ।

‘अवरुद्ध विद्युतीय राहदानी सेवा सुचारु हुन अझै दुई तीन दिन लाग्ने भन्ने खबर छ,’ उहाँले भन्नुभयो, ‘उक्त सेवा लिन आउनेलाई हामीलाई सम्पर्क गरेर मात्रै आउन आग्रह गर्छौं ।’

बैतडीमा पहिलोपटक गत जेठ १२ गतेदेखि विद्युतीय राहदानी सेवा दिन शुरु गरिएको थियो । हालसम्म करिब ४०० जनाले यो सेवा लिएका छन् । जिल्लामा गत मंसिर २ गतेदेखि एमआरपी राहदानी बनाउन बन्द गरिएको थियो ।