रक्षा मन्त्रालयले संसदीय समिति अवज्ञा गर्‍यो : डा. भीम रावल « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


रक्षा मन्त्रालयले संसदीय समिति अवज्ञा गर्‍यो : डा. भीम रावल


91
Shares

काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले नेपाल संसदीय समितिले दिएको निर्देशन विपरीत् रक्षा मन्त्रालयले समितिलाई अवज्ञा गरेको आरोप लगाउनुभएको छ ।

बुधबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै सांसद रावलले रक्षा मन्त्रालयले संसदीय समितिको अवज्ञा गरेको आरोप लगाउनुभएको हो ।

सांसद रावलले समितिले अमेरिकी सरकारसँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौताबारे जानकारी गराउन निर्देशन दिए पनि मन्त्रिपरिषद् निर्णय भएको भनि पत्र पठाएर रक्षा मन्त्रालयले समितिकै अवज्ञा गरेको बताउनुभयो ।

सांसद रावलले कानूनी र प्रशासनिक दृष्टिकोणबाट पठाइएको पत्र समितिको निर्देशन विपरीतको भएको दाबी गर्नुभयो ।

‘यो समिति नेपाली जनताबाट निर्वाचित दुवै सदनको संयुक्त समिति हो, आफैँमा यसको गरिमा, प्रभाव र अधिकारको क्षेत्रको बारेमा सबै नेपाल सरकारका निकायहरुलाई राम्रो जानकारी हुनुपर्ने हो,’ उहाँले भन्नुभयो, ‘तर, रक्षा मन्त्रालयबाट २०७९ असार १३ गतेको जुन यो पत्र हामीले सुन्यौं, यो समितिको निर्देशन विपरीतको पत्र हो, कानूनी र प्रशासनिक दृष्टिकोणबाट पनि ।’

समितिले बारम्बार एसपीपीको बारेमा स्पष्ट जानकारी सरकारसँग माग गरे पनि सरकारले अमेरिकालाई पठाएको पत्र वा मन्त्रिपरिषद्को निर्णय नपठाइ विना अर्थको पत्र समितिमा पठाएको उहाँले बताउनुभयो ।

संविधानले अख्तियार प्रदान गरेको समितिलाई कुनै एउटा मन्त्रालयले यस किसिमको पत्र लेख्न नसक्ने उहाँले जिकिर गर्नुभयो ।

सांसद रावलले समितिको बारेमा नेपाल सरकार र सम्बन्धित निकायलाई राम्रोसँग जानकारी नरहेको भन्दै मन्त्रालयको समितिलाई पठाएको पत्र आपत्तिजनक रहेको बताउनुभयो ।