
काठमाडौं । एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता तथा कार्यकर्ताले कुनै दलसँग गठबन्धन नगरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जान नेतृत्वलाई दबाब दिएका छन् ।
अहिले सत्ता गठबन्धनमा रहेका कांग्रेस र माओवादीले नेकपा एसलाई हेपेका कारण अबको निर्वाचनमा गठबन्धन नगरी एक्लै जनतामाझ जान राष्ट्रिय प्रतिनिधि परिषद्मा सहभागी नेता तथा कार्यकर्ताले नेतृत्वलाई दबाब दिएका हुन् । नेकपा एस पनि सत्ता गठबन्धनमा छ ।
नेकपा एसको दुई दिनसम्म काठमाडौंमा चलेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा सहभागी अधिकतरले कांग्रेस र माओवादीको हेपाहा प्रवृत्तिले आफूहरूको शिर निहुरिएको बताएका थिए । स्थानीय तह निर्वाचनमा अधिकतर स्थानमा काँग्रेस, माओवादीले हाम्रो पार्टी नयाँ भएको भन्दै हेपाहा प्रवृत्ति देखाए, हामीलाई अलमल्याउने काम मात्रै गरेु, परिषद् बैठकमा बागमती प्रदेशबाट सहभागीमध्ये प्रतिनिधिले भनेका थिए । बागमती प्रदेशबाट सूर्यचन्द्र न्यौपानेले प्रतिनिधिहरूको समग्र धारणा प्रस्तुत गरेका थिए ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्