ओखलढुंगाकाे डाँडागाउँका स्थानीयलाई पहिरोको चिन्ता « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


ओखलढुंगाकाे डाँडागाउँका स्थानीयलाई पहिरोको चिन्ता

एक दर्जन बढी घर जोखिममा

117
Shares

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-७ डाँडागाउँका स्थानीय बासीन्दालाई वर्षा सुरु भएसँगै पहिरोको चिन्ता लाग्न थालेकाे छ ।

२०३६ सालदेखि सुरु भएको पहिरो अझै नियन्त्रण नहुँदा यहाँका स्थानीय त्रासमा बस्न बाध्य भएका छन् । लिपेखोला कटानका कारण झरेको पहिरोले डाँडागाउँका एक दर्जन बढी घर जोखिममा पारेको छ । पहिरोले पटक-पटक स्थानीयलाई विस्थापित गर्दै आएको छ । पहिरोले तान्ने अवस्था आएपनि जीवन निर्वाहमा समस्या देखिएपछि यहाँका स्थानीयले गाउँ छाड्न सकेका छैनन् । पहिरोकै कारण पटक-पटक विस्थापित हुनु परेको स्थानीय फुर्तुण्डु शेर्पाले बताउनुभयो।

प्राय वर्षायाममा बग्ने यो पहिरोकै कारण डाँडागाउँ क्षेत्रमा ठूला-ठूला धाँजा फाटेको छ । पहिरोले यहाँको ३ सय रोपनी भन्दा बढी खेतीयोग्य जमिनसमेत बगाइसकेको स्थानीयको अनुमान छ । पहिरो नियन्त्रणका लागि भने हालसम्म कुनै प्रयास भएको छैन् ।