‘प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पारवहन सन्धिमा हस्ताक्षर हुन्छ’ • Image Khabar Image Khabar


‘प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पारवहन सन्धिमा हस्ताक्षर हुन्छ’


Imagekhabar
२ असार २०७५, शनिबार ०६:५५

‘प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पारवहन सन्धिमा हस्ताक्षर हुन्छ’

काठमाडौं, असार २ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा नेपाल–चीनबीच पारवहन तथा यातायातसम्बन्धी सन्धिमा हस्ताक्षर हुनसक्ने प्रवल सम्भावना रहेको परराष्ट्र मामिलाका जानकारहरुले संकेत गरेका छन् ।

शनिबार राजधानीमा आयोजित साक्षात्कारमा नेकपाका नेता एवं परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले आगामी मंगलबारबाट हुने प्रधानमन्त्रीको चीन भ्रमणका अवसरमा पारवहन र यातायात क्षेत्रमा सहयोग आदानप्रदान सन्धिमा हस्ताक्षर हुने बताए ।

उनले भने–‘नेपाललाई विकास र समृद्धिको बाटोमा अघि बढाउने सन्दर्भमा प्रधानमन्त्रीको आगामी चीन भ्रमण ऐतिहासिक कोसेढुंगाकोरुपमा सावित हुनेछ । पारवहन तथा यातायात क्षेत्रमा सहकार्य गर्ने सन्दर्भमा काजगपत्रको आदानप्रदान भइरहेको छ ।’

नेपालमा राजनीतिक स्थिरता कायम भइ अत्याधिक जनाधारसहितको सरकार गठन भएको हुँदा विकास र समृद्धिका लागि चीनको सडक, रेल, ऊर्जा, सिँचाइ, पर्यटनगायत पूर्वाधार क्षेत्रमा लगानी र सहयोग हुनेसक्ने बताउँदै नेता डा. भट्टराईले ‘समुद्रको तटसम्मको पहुँच नेपालको अधिकारमात्र नभइ प्राथमिकताको विषय हो भन्ने पक्षलाई छिमेकी चीनले बुझेको छ’–भने ।

पूर्वराजदूत डा. सुरेश चालिसेले राजनीतिक स्थायित्वपछि गठन भएको वर्तमान सरकारको विकास र समृद्धिको नारालाई सार्थकता प्रदान गर्न राम्रो कूटनीतिक प्रयोग भएमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमण निकै उपलब्धिमूलक हुनसक्ने बताए ।

उनले भने–‘नेपालको पर्यटन, ऊर्जा, कृषि, जलस्रोत र पूर्वाधार विकासमा चीनलाई विकासको साझेदार बनाउनुपर्छ । समृद्धि र विकासमा एकढिक्का भएर अघि बढ्नुपर्ने बेलामा राजनीतिक प्रणाली र सिद्धान्त फेरबदलको कुरा उठाउँदा लगानी र सहयोगको उत्साहमा कमी आउनेसक्ने पक्षलाई हेक्का गर्न आवश्यक छ ।’

अर्का पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले नेपालको समृद्धिका लागि चीनलाई विकासको साझेदार बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा पारवहन र यातायातका विषयमा सन्धिमा हस्ताक्षर हुनुपर्दछ भन्दै उनले भने–‘नेपालको व्यापार घाटालाई सन्तुलनमा ल्याउन तथा निर्यात बढाउन कृषि, उद्योग र उत्पादनका क्षेत्रमा संयुक्त लगानी प्रवद्र्धन गर्नुपर्छ । प्रधानमन्त्रीको आगामी भ्रमणबाट जलस्रोत र ऊर्जा क्षेत्रमा नयाँ अध्याय सुरु हुनेछ ।’ रासस

प्रतिक्रिया दिनुहोस्