
काठमाडौं, वैशाख १६ । नेपाल चेम्बर अफ कमर्सले उद्योग तथा आपूर्तिको क्षेत्रमा परेको प्रभाव न्यूनीकरण गर्न उद्योग मन्त्रालयलाई सुझाव दिएको छ ।
चेम्बरले उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थालाई सहज बनाउनका लागि चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई २४ बुँदे सुझावपत्र बुझाएको हो ।
चेम्बरले उद्योग क्षेत्रका लागि सरकारबाट विशेष राहत प्याकेजको व्यवस्था गर्नुपर्ने, कोरोना प्रभावित क्षेत्रलाई कर, जरिवाना तथा ब्याजमा विशेष छुट हुुनुपर्ने, औद्योगिक लागत कम गर्न विद्युत् महसुल र करमा पुनरावलोकन गर्नुपर्ने माग गरेको छ ।
यस्तै, निजी क्षेत्रका लागि ल्याइने राहत प्याकेज ‘जीडीपी’को ५ प्रतिशत कम हुन नहुने, अतिप्रभावित क्षेत्रका सबै स्तरका उद्योगलाई तत्कालै अल्पकालीन राहत प्याकेज ल्याउनुपर्ने, अनिवार्य नगद मौज्दात (सीसीडी रेसियो) खुकुलो बनाइ लगानीयोग्य पुँजी प्रवाह बढाउनुपर्ने माग चेम्बरले गरेको छ ।
चेम्बरले सरकारको ढुकुटीमा रहेको र वर्षेनि खर्च हुन नसकेको पुँजीलाई निजी क्षेत्रमार्फत् आर्थिक विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा लगानीका लागि नीतिगत व्यवस्था गर्ने तथा साना, मझौला उद्योगलाई अधिकतम् सुविधा उपलब्ध गराइनुपर्ने माग गरेको छ ।
यस्तै, सरकारले अत्यावश्यकीय वस्तुको आयात व्यापारमा खुकुलो नीति अवलम्बन गरी बिलासी र अनुत्पादक वस्तुको आयात घटाउँदै लैजानुपर्ने चेम्बरको माग छ ।
उपभोक्तालाई राहत दिन भन्सार दर घटाइनुपर्ने, विश्व व्यापार संगठन, ‘बिम्स्टेक’, ‘साफ्टा’ आदिमा गरिएका प्रतिबद्धताअनुसार भन्सार दरबन्दी घटाउने व्यवस्था गर्नुपर्ने माग चेम्बरले गरेको छ ।
यस्तै, सार्वजानिक वितरण प्रणाली व्यवस्थित बनाइ न्यून आय भएका व्यक्तिहरुलाइ रासन कार्डमार्फत् उपभोग्य वस्तु उपलब्ध गराउन चेम्बरले सुझाव दिएको हो ।
प्रतिक्रिया दिनुहोस्