काठमाडौं । सर्वोच्च अदालतले आजबाट सबै प्रकारका रिट निवेदन दर्ता गर्ने भएको छ ।
आइतबार बसेको सर्वोच्चको पूर्ण बैठकले लकडाउन जारी रहे पनि सबै किसिमका रिट दर्ता, सुनुवाइ तथा फैसलालगायतका काम–कारबाही सुचारु गर्ने निर्णय गरेको हो ।
अदालतमा भिड घटाउन यसअघि केही अत्यावश्यकबाहेक अन्य रिट दर्ता रोकिएको थियो ।
रिट दर्ता र सम्बन्धित प्रक्रिया सुरु भएपछि बढ्न जाने भिड र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी व्यवस्थापनको जिम्मा प्रशासनलाई दिइएको छ ।
रिटबाहेकका अन्य प्रकारका मुद्दा दर्ता भने हुने छैन । यसअघि सर्वोच्चले बन्दी प्रत्यक्षीकरण, कोरोना सम्बन्धित रिट, बाल सुधारगृह तथा तोकिएको शुल्क तिरेर कैदमुक्त हुन चाहने कैदी भन्दाबाहेकका मुद्दा लकडाउन अवधिभर नहेर्ने निर्णय गरेको थियो ।
यसैबीच नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय समन्वय समितिसँग छलफल नगरी रिट दर्ता र सुनुवाइ गर्ने भन्ने निर्णय अव्यवहारिक भएको जनाएको छ ।
महासचिव लिलामणि पौडेलले विज्ञप्ती जारी गरेर सर्वोच्च अदालतको निर्णय असमान, भेद्भावजन्य र कामकै लागि पैदलै हिँडेका नागरिक, कानून व्यवसायीले पनि थप पीडा तथा अपमान व्यहोर्न पर्ने खालको भएको बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्