डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरूले गर्नुपर्छ : अर्थमन्त्री शर्मा « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Thu Jun 30 2022


डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरूले गर्नुपर्छ : अर्थमन्त्री शर्मा


130
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय नयाँ–नयाँ प्रविधिबाट भइरहने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरूले गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार नेपाल चार्टड एकाउण्टेन्ट्स संघ (एक्यान) को ३७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले डिजिटल कारोबार बढ्दै जाँदा अर्थतन्त्रमा समस्या देखिएकाले डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरूले गर्नुपर्ने बताउनुभएको हो ।

मन्त्री शर्माले अडिटरहरू नै डिजिटल कारोबारको विज्ञ भएको पनि बताउनुभयो । नेपालमा डिजिटल कारोबार क्रिप्टोकरेन्सी लगायत अन्य धेरै कारोबार भइरहेको उहाँको भनाइ छ । डिजिटल रूपम कारोबार हुने सबै कारोबारको अध्ययन गर्न आवश्यक रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री शर्माले लेखा परीक्षणमा नै समस्या रहेकाले सरकारको ठूलो रकममा बेरुजु बढ्दै गएको बताउनुभयो । उहाँले लेखा परीक्षणमा समस्या हुँदा एकपछि अर्को बेरुजु थुप्रिँदै गएको दाबी गर्नुभयो ।

मन्त्री शर्माले विभिन्न निकायहरूले लेखा परीक्षण समयमा नै नगर्दा राज्यले बेरुजुको भार बोक्नुपरेको बताउनुभयो । उहाँले सरकारलाई वर्षैपिच्छे बेरुजु भार पर्दै जानुमा लेखा परीक्षणलाई तोकिएको विधि मान्यता र समयमा भुक्तानी गरेर अडिट गरी प्रमाणित नगर्नु नै प्रमुख कारण रहेको जिकिर गर्नुभयो ।

अर्थमन्त्री शर्माले आर्थिक सुशासन ,जवाफदेहिता र पारदर्शिता बनाउनु राष्ट्रिय चुनौतीको रूपमा रहेको बताउनुभयो । उहाँले आर्थिक सुशासन ,जवाफदेहिता र पारदर्शितालाई स्वार्थ अनकुल व्याख्या,परिभाषा गर्ने खालको प्रवृति हाबी हुँदै गएको बताउनुभयो ।

मन्त्री शर्माले मुलुकको अर्थतन्त्रमा कस्तो लाभ हुन्छ भन्ने आधारमा मूल्याङ्कन गर्नुको सट्टा व्यक्ति, समूह र गुटगत स्वार्थको आधारमा मूल्याङ्कन गरेर भ्रम सिर्जना गर्ने काम भइरहेको गुनासो गर्नुभयो ।

उहाँले नेपाल चार्टड एकाउण्टेन्ट्स धेरै संस्थादेखि सरकारको राजश्व तथा करसँग समेत जोडिएकाले पारदर्शिताका साथ काम गर्दा मुलुकलाई योगदान पुग्ने बताउनुभयो ।

त्यस्तै महालेखापरीक्षक टंकमणि शर्मा दंगालले अनलाइन प्रविधिबाट अडिटमा समस्या रहेको बताउनुभयो । उहाँले यो वर्षदेखि सरकारका सबै अडिटहरू अनलाइन प्रणालीबाट नै गरिएकाले कर्मचारीमा नयाँ प्रविधिको ज्ञान अभावको कारण समस्या देखिएको बताउनुभयो ।

शर्माले अनलाइन प्रणालीबाट लेखा परीक्षणको काम गर्दा सजिलो र छिटो हुने तर कर्मचारीहरू सबैमा प्रविधिको जानकारी नहुँदा ठूलो समस्या हुने बताउनुभयो । अब नयाँ प्रविधिको ज्ञान सीप सबै लेखा परीक्षकहरूले लिएर क्षमता अभिवृद्धि गर्न आवश्वयक रहेको उहाँको भनाइ छ ।

महालेखापरीक्षक शर्माले लेखा परीक्षण गर्ने अडिटरको सुझाव मान्य हुन छोडेको बताउनुभयो । उहाँले डाक्टर, इन्जिनियर, पाइलट र वकिलको सुझाव वा काम सबैले मान्ने गरेपनि अडिटरको सुझाव मान्न छाडेको अवस्था देखिएको बताउनुभयो ।

शर्माले अडिटरहरूले विश्लेषण गरेर आउनुपर्ने निचोड भन्दा फरक निचोड आउने गरेकाले मान्य हुन छोडेको बताउनुभयो । उहाँले चार्टर्ड एकाउण्टेन्ट्स संघले लेखा परीक्षणको सीप र ज्ञानको विषयमा स्थानीय तहका जनतालाई पुग्नेगरी प्रचारप्रसार गर्न आग्रह गर्नुभयो ।