रुस र युक्रेनबीच युद्ध भएकाे आज ४ महिना पूरा « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


रुस र युक्रेनबीच युद्ध भएकाे आज ४ महिना पूरा

युद्ध अन्त्य हुने भन्दा झन् विस्तार हुने दिशातर्फ उन्मुख

2.314k
Shares

काठमाडौं । रुस र युक्रेनबीच युद्ध सुरु भएको आज (शुक्रबार) चार महिना पूरा भएको छ ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि पहिलो सैनिक हमला गरेको थियो । यसबीचमा दुवैतर्फ गरी हजारौं सैनिक मारिएका छन् भने घाइतेहरुको संख्या त्यो भन्दा कैयौ गुणा बढी छ । युक्रेनको राजधानी किभसहि लगभग सबै शहरहरु खण्डहरमा परिणत भएका छन् । ८० लाख युक्रेनीले देश छाडेका छन् भने विस्थापित हुने युक्रेनीहरुको संख्या एक करोड ३० लाख माथि छ। युद्धबाट भएको आर्थिक क्षतिको त हिसाब नै छैन् ।

अहिलेसम्म युक्रेनले ६ सय अर्ब डलर बराबरको क्षति ब्यहोर्नु परेको आँकलन गरिएको छ । युद्धको आर्थिक असर युरोप, अमेरिका हुँदै विश्वभर परेको छ । विश्वका १ अर्ब ६० करोड मानिसमा युद्धको प्रत्यक्ष अप्रत्यक्ष मारमा परेको एक अध्ययनले देखाएको छ । रुसी आक्रमण पछिल्ला दिनमा दक्षिण पूर्वी युक्रेनमा केन्द्रित छ ।

जहाँबाट रुस तत्कालपछि नहट्ने रणनीतिमा छ । चार महिना पूरा भइसक्दा पनि यो युद्धको अन्त्य कसरी र कहिले हुन्छ भन्ने कुनै संकेत देखिएको छैन् । बरु रुसको अर्को देश लिथुआनियासँग तनाव बढेको छ । रुसले कुनै पनि लिथुआनियामाथि आक्रमण गर्न सक्ने आशंकामा पश्चिमा देशहरु छन् । त्यसो भयो भने युद्ध झन् विस्तार हुने र त्यसले अन्य देशहरुलाई पनि प्रत्यक्ष युद्धमा तान्ने खतरा बढाएको छ ।