३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


काश्मिरका बालबालिकालाई रेडियो मार्फत पढाइने


0
Shares

एजेन्सी । भारतको काश्मिर क्षेत्रका बालबालिकालाई रेडियो मार्फत अध्यापन गराइने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले लकडाउन गरेकाले उनीहरुलाई रेडियो मार्फत अध्यापन गराउनु परेको हो ।

भारतले देशव्यापी लकडाउनको घोषणा गरेदेखि नै भारतका सबैजसो विद्यालय बन्द रहेकाले बालबालिकाहरु अध्ययन कार्यबाट बञ्चित भएका छन् ।

अत्यधिक धेरै विद्यार्थीहरु माझ एकैचोटी पुग्ने सजिलो र प्रभावकारी माध्यम नै रेडियो भएकाले रेडियो मार्फत् अध्यापन गराउन लागिएको अधिकारीहरुले जनाएका छन् ।

भारतको विद्यालय शिक्षा विभागले अर्को हप्तादेखि रेडियो मार्फत् अध्यापन गराउने तयारी थालिएको जनाएको छ ।

अधिकारीहरुका अनुसार शिक्षकले अल इन्डीया रेडियो मार्फत् अध्यापन गराउने छन् भने तोकिएको समयका विद्यार्थीहरुले घरमै बसेर पढ्न सक्नेछन् ।

काश्मिरको विद्यालय शिक्षा निर्देशनालयले यसअघि गत मार्च २६ देखि नै दूरसञ्चार केन्द्रको काश्मिर च्यानल मार्फत् पनि अध्यापन गराउँदै आएको छ ।

तर कतिपय विद्यार्थीहरु टेलिभिजनको पहुँचमा नभएकाले उनीहरुलाई समेत हुनेगरी रेडियो मार्फत् पनि अध्यापन गराउनु परेको हो ।

निर्देशनालयले तयार पारेका शैक्षिक सामग्रीहरु रेडियो, टेलिभिजनसँगै युट्युव, निर्देशनालयको वेभसाईट लगायत विभिन्न विद्युतीय माध्यमहरुबाट पनि विद्यार्थीहरुसम्म पुर्‍याउने प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन् ।

काश्मिरका विद्यालय शिक्षा निर्देशक मोहम्मद युनिस मलिकले लकडाउन जति लम्बिदै गएपनि विद्यार्थीहरु पठनपाठनबाट पूर्ण रुपमा बञ्चित हुन नपरोस् भनेर पर्याप्त शैक्षिक सामग्रीहरु तयार पारेर विद्यार्थीहरुको पहुँचमा पुर्‍याउन अनेक उपायहरु गरिएको बताए ।

लकडाउनमा भएका बेला विद्यार्थीहरुले पढ्ने सामग्रीको अभाव नहोस भनेर नै यस्तो व्यवस्था गरिएको उनको भनाई छ ।