
काठमाडौं, बैशाख १४ । लकडाउनको समयमा भैरहवा भन्सार कार्यालयबाट हरियो तरकारी र फलफूलको आयात उच्च देखिएको छ ।
गत चैत ११ देखि वैशाख ११ गतेसम्म ३१ दिनको अवधिमा रु. ६२ करोड ८५ लाख ९८ हजार बराबरको तरकारी तथा फलफूल आयात भएको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा रु. ५० करोड ८९ लाख बराबरको आयात भएको थियो ।
लकडाउनको ३१ दिनको अवधिमा २५ लाख ९९ हजार मूल्यको २ सय ४२ मेट्रिकटन मात्रै हरियो सागसब्जी भारतबाट आयात भएको छ ।
गत वर्षको यही अवधिमा आयात भएको भन्दा ३१ टन बढी हो । गत बर्षको यसै अवधिमा २२ लाख ७७ हजार मूल्यको २११ मेट्रिकटन हरियो सागसब्जी भारतबाट आयात भएको थियो ।
आलु, प्याज लगायत तरकारी यस अवधिमा उच्च दरले भित्रिएको कार्यालयले जनाएको छ ।
स्थानीय तरकारी तथा फलफूलको बजारीकरण नभएकाले भारतबाट आउने तरकारी तथा फलफूलको आयात उच्च भएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले बताए ।
लकडाउनको समयमा भैरहवा भन्सार कार्यालयबाट चना, काँचो नरिवल, काँचो केरा, आँप, सुन्तला, अङ्गुर लगायतका फलफुल गत वर्षभन्दा अत्यधिक बढी नेपाल भित्रिएको कार्यालयका सूचना अधिकारी पूर्ण लम्सालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्