
काठमाडौं, वैशाख १४ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको दल दर्ता रोक्न माग गर्दै सत्तारुढ दलको युवा संघ नै निर्वाचन आयोगमा पुगेको छ ।
सत्तारुढ नेकपाको भ्रातृ संगठन युवा संघले समाजवादी पार्टी र राजपा नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको हो ।
युवा संघका केन्द्रीय सदस्य अमित लामाले उजुरी दर्ता गराएका हुन् । उनी तत्कालीन एमाले भ्रातृ संगठन युवा संघमा केन्द्रीय कोषाध्यक्ष थिए ।
‘दुई दलबीचको सहमति पत्रमा बहुराष्ट्रिय राज्य कायम गर्ने उल्लेख भएको र सो व्यवस्था संविधान प्रतिकूल भएको उल्लेख गरेर निर्वाचन आयोगमा उजुरी गरेका हौँ । हाम्रो निवेदनको दर्ता नम्बर १३९० हो’ उनले भने ।
समाजवादी पार्टीले युवा संघका पूर्व अध्यक्षसमेत रहेका सांसद महेश बस्नेत, नेकपाकै अर्का सांसद किसान श्रेष्ठ र पूर्वआईजिपी सर्वेन्द्र खनालविरुद्ध अपहरण र शरीर बन्धकको मुद्दा प्रहरीमा दर्ता गरेकै दिन दल दर्ता नगर्न माग गर्दै सत्तारुढ दलको भ्रातृ संगठनका नेता आयोग पुगेका हुन् ।
‘छुट्टै देश अर्थ झल्कने गरी दल दर्ता गर्न प्रस्ताव गरिएकाले नेपालको संवधानको धारा २६९ को ५ विपरित प्रस्ताव गरिएकाले उक्त दल दर्ता प्रक्रिया रोकी पाउन यो निवेदन पेश गरेका छौँ।’ उजुरीमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्