काठमाडौं । अश्व (घोडा) प्राचिनकालदेखि मानव सभ्यतासँग जोडिएको छ । तन्त्रको केन्द्रको रूपमा रहेको नेपालमण्डलमा तलेजु भवानीको बाहनको रूपमा अश्वलाई मन्दिर परिसरमा अहिले पनि पालिएको छ ।
नेपाल प्राचिन कालदेखि तन्त्र साधनाको केन्द्र रहँदै आएको छ । तलेजु भवानीको प्रवेशसँगै मल्लकालमा तलेजुलाई इष्टदेवीको रूपमा पुजिन थालियो । मल्लकालमा विभिन्न राज्यमा तलेजु भवानीको भव्य मन्दिर पनि बनाइयो ।
तन्त्र साधनाको मुख्य देवी मानिने तलेजुलाई राष्ट्रको संरक्षकको रूपमा समेत पुजिँदै तलेजुको बाहनको रूपमा अश्वलाई पालिन थालियो । यो परम्परा अहिले पनि कायम छ ।
त्यसैमध्ये हनुमान ध्वाँखा दरवारमा रहेको तलेजु भवानीको अश्व पनि एक हो । उच्च जाति र लक्षणयुक्त यो अश्व २०३१ सालदेखि देवीको बाहनको रूपमा पालिएको छ । यस हिसाबले अश्व करिव ४९ वर्षको भयो ।
साधारणतया अश्वको उमेर २५ देखि ३० वर्षको हुन्छ । दैवी शक्ति र पोथीसँग संसर्ग नगरेकोले याे अश्व ४९ वर्ष बाँचेको तलेजुका मूल पुजारी उद्धवमान कर्माचार्यकाे दाबी छ ।
देवीको नाममा राखिएको अश्वको मृत्यु भए राजकीय सम्मानको साथ अन्तेष्टि गर्न चलन छ । यस अघिको सेतो अश्वको राजकीय सम्मानका साथ इन्दायणी मन्दिर परिसरमा अन्त्येष्टि गरिएको बताइन्छ ।
तान्त्रिक रूपमा पालिएको अश्वलाई केही भयो भने राष्ट्र र राष्ट्रप्रमुखको अनिष्ट हुन्छ भन्ने मान्यता छ । अश्वको रेखदेखका लागि काठमाडौंमा २०औं रोपनी जग्गाको गुथी थियो । तर, गुथी संस्थानले रैकर कायम गरेर बेचेको र कुनै हराइरहेकाे कर्माचार्यले जानकारी दिनुभयो ।
संस्थानले दैनिक १ किलो ६ सय ग्राम चना अश्वलाई खुवाउने गरेको छ । हनुमानढोका दरबार हेरचाह अड्डाले पनि गहुँ, चोकर, पराल र औषधि उपचारको व्यवस्था गर्दै आएको छ । कार्यालय सहयोगी मुक्तिनाथ खनालले दानापानी र स्याहार सुसार गर्दै आउनुभएकाे छ ।
तन्त्रसाधकको रूपमा चिनिएका प्रताप मल्लको पालादेखि तलेजु मन्दिर परिसरमा अश्व पाल्ने प्रचलनले निरन्तरता पाउँदै आएको छ । तर भविष्यमा के हुने हो थाहा छैन ।
अश्वको हेरचाह र रेखदेखका लागि राखिएको गुथीको जग्गा खोज्न सम्बन्धित गुथी र सरोकारकावालाहरू जागरुक हुन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्