Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


उदयपुरमा जमाती समूहबाट नभइ विदेशबाट आएका युवाबाट कोरोना सरेको पुष्टि


0
Shares

उदयपुर । त्रियुगा नगपालिका– ३ भुल्केमा २८ जनामा देखिएको कोरोना सङ्क्रमण भारतीय जमाती मुस्लीम समूहबाट नसरेको कुरा पुष्टि भएको छ ।

शनिबार त्रियुगा नगपालिका– ३ भुल्के आइपुगेका प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवनकुमार घिमिरेले शुरुमा आफूहरु सबैले भुल्केमा २८ जनामा देखिएको कोराना सङ्क्रमण भुल्केको नुरी मस्जिदमा लुकेर बसेका भारतीय १२ मुस्लीम धर्मगुरु जमातीबाट सरेको विश्वास गरेको भए पनि अहिले सो कुरा पुष्टि नभएको बताए ।

मन्त्री घिमिरेले भने, “भुल्केको नुरी मस्जिदमा रहेका १२ मुस्लीम जमाती उदयपुरको चौदण्डी नगरपालिकाको सिवाइ मस्जिदमा पनि १५ दिन रहेका र अन्यत्र पनि रहेका तर ती सबै जमाते रहेका स्थानका नागरिकको स्वाब नमूना जाँच गरेर रिपोर्ट हेर्दा रिपोर्ट नेगेटिभ आएको छ ।”

अहिलेको कोरोना भुल्केमा जमातीबाट नसरेको बरु भुल्केका केही मुस्लीम युवा लकडाउनअघि नै साउदी र कतारबाट आएका कारण उनीहरुबाट सरेको मन्त्री घिमिरेको जिकिर छ ।

अहिले भुल्केमा विदेशबाट आएका युवा पनि २८ जना कोरोना सङ्क्रमित भित्र रहेका र उनीहरु अहिले विराटनगरस्थित कोरोना अस्पतालमा उपचार गराइरहेका उनले बताए ।

भुल्केमा विदेशबाट आएका स्थानीय मुस्लीम युवाले मस्जिदमा प्रवेश गर्दा जमातेमा सारेको पनि मन्त्री घिमिरे बताए ।

भोजपुरमा कोरोना सङ्क्रमित देखिएका युवा केही समयअघि साउदी अरबबाट आएका र उनैले कोरोना लिएर आएको पुष्टि भएका कारण तथ्यका आधारबाट हेर्दा र अहिलेसम्मको प्रदेश सरकारको अनुसन्धानबाट पनि जमाते समूहबाट कोरोना नसरेको मन्त्री घिमिरेले जानकारी दिए ।