२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


चाँदीको ताल्चालाई चाँदीकै साँचोले खोलेर उद्घाटन गरेको कलेज खण्डहर बन्दै

मुलुककै जेठो कलेज पुननिर्माण गर्नुभन्दा पहिले प्राधिकरण खारेज

3.822k
Shares

काठमाडौं । जनताका सन्तान शिक्षाको उज्यालोबाट वञ्चित नहुन भन्ने पवित्र उद्देश्य लिएर खोलिएको एक शताब्दी पुरानो त्रिचन्द्र क्याम्पस यतिबेला भग्नावशेषमा परिणत हुँदै छ । राजा महाराजादेखि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासम्म दीक्षित यो शैक्षिक प्रतिष्ठानको भौतिक दुरावस्थाले वार्षिक क्यालेण्डरसमेत प्रभावित भएको छ ।

कसले पत्याउँछ ? राजा त्रिभुवनले १९७६ असोज २७ गते चाँदीको ताल्चा र चाँदीकै साँचोले खोलेर उद्घाटन गरेको कलेजले समय क्रममा यस्तो दुरावस्था झेल्नुपर्ला भनेर । मुलुकको पहिलो शैक्षिक धाम भएर मात्र होइन, देश देशावरमा आफ्ना प्रतिभा फैल्याएको यो कलेज दिनप्रतिदिन जीण अवस्थामा पुगेको छ । यो कलेजबाट उत्पादित जनशक्ति कुन पेशा व्यवसायमा छन् भन्दा पनि कहाँ छैनन् भन्ने साख धानेको कलेज धराप स्थितिमा पुग्नुका धेरै अन्तरकथा छन् । कुनै समय १३ हजार विद्यार्थी संख्या रहेको त्रिचन्द्र कलेजमा यस्तै अव्यवस्थाका कारण विद्यार्थी संख्या खुम्चिने क्रम निरन्तर छ ।

कलेजको बाहिरी, भित्री सबै संरचनाको अवस्था बेहाल छ । यहाँ प्रवेश गर्दा कुनै शैक्षिक प्रतिष्ठान नभएर खण्डहरमा पसेको अनुभूति हुन्छ । भवनको भूइँभरी चुहिएको पानीले लेउ जमेको छ भने छानो चुहिएर पर्खाल गिलो हुँदा भवन कतिबेला थला बस्ने हो भन्ने भयले विद्यार्थी आतंकित हुने गरेका छन् । यहाँ पढ्ने विद्यार्थीको मनस्थिति त्रसित छ ।

२०७२ को भूकम्पले त यसका हरेक पाटो थिलथिलो बनायो । तीनतले भवनमा रहेको घण्टाघर रहेको संरचनाको हालत त झन हेर्न सक्ने अवस्थामा नै छैन । यहाँ रहेको ऐतिहासिक घडीले काम नगर्दा यसको मर्मत सम्भार त भयो तर भवनको जिर्णोद्धारमा कसैको ध्यान पुगेन ।

भूकम्पपछि काठमाडौंभित्रका थुप्रै शैक्षिक प्रतिष्ठानलेबदले पनि यसको निर्माणमा न विश्वविद्यालय, न सरकारकै ध्यान गएको छ । अचम्म त के छ भने यसको ऐतिहासिक साखकै कारण यहाँको विद्यार्थी हुन पाउँदा गौरव गर्नेहरुको कमी छैन ।

भूकम्प पुननिर्माण प्राधिकरणले पाँच वर्ष भित्रमा देशभरका भूकम्पबाट प्रभावित भवन बनाउने प्रतिवद्धता त जनायो तर उसको दृष्टि यहाँ नपुग्दै प्राधिकरण खारेज भयो । आफू पढेको कलेज नबनेपछि स्वयं विद्यार्थीहरु नै आन्दोलित भएर पुनर्निर्माणको आवाज उठाइरहेका छन् ।

हाल यहाँ मानविकी १४ विषयमा स्नातक, ६ विषयमा स्नातकोत्तर, विज्ञान ९ विषयमा स्नातक, ३ विषयमा स्नातकोत्तरको पढाइ हुँदै आएको छ । त्यसैले शैक्षिक इतिहासको धरोहर यो कलेजलाई यो अवस्थाबाट जोगाउनु सबैको दायित्व हो ।