३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


कोरोनाको संकटलाई पार लगाउन एकीकृत प्रयासका लागि विश्व आर्थिक मञ्चको जोड


0
Shares

काठमाडौं, वैशाख १२ । ‘कोभिड १९’ को संकटलाई पार लगाउन सबैको सामूहिक र एकीकृत प्रयास रहनुपर्नेमा जोड दिइएको छ ।

विश्व आर्थिक मञ्चका पदाधिकारी, दक्षिण एसियाली मुलुकका सरकार प्रमुख तथा उच्चपदस्थ पदाधिकारी, निजी क्षेत्रका प्रतिनिधि, अर्थशास्त्रीबीच भएको ‘भिडियो कन्फरेन्स’मा सरोकारवालाहरुले उक्त जोड दिएका हुन् ।

बंगलादेशका प्रधानमन्त्री शेख हसिना, विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेड, विश्व स्वास्थ्य संगठनका निर्देशक पुनम खेत्रापल सिंहलगायत सहभागीले यस क्षेत्रकै एकीकृत प्रयासमा जोड दिएका हुन् ।

छलफलमा अर्थमन्त्री डा. युवराज खतिवडाले धनी–गरिब सबै मुलुकले अप्रत्याशितरुपमा कोभिड—१९ जस्तो अज्ञात शत्रुको सामना गर्नुपरिरहेको उल्लेख गर्दै भौतिक सुरक्षा क्षेत्रमा भइरहेको बढ्दो खर्चले अहिले अर्थ नराख्ने बताए ।

यसले हामी सबैलाई सार्वजनिक स्रोत मानव कल्याणतर्फ पुनर्प्राथमिकीकरण र केन्द्रित गर्नुपर्ने देखिएको अर्थमन्त्री खतिवडाले उल्लेख गरे ।

कोभिड–१९ ले बहुसंख्यक जनतालाई बेरोजगारी र गरिबीतर्फ धकेलेकाले विगत तीन दशकदेखि गरिबी निवारणमा गरेको प्रयास र सफलतालाई यसले कमजोर बनाएको पनि उनले बताए ।

यसबाट दिगो विकास लक्ष्य हासिल गर्न थप चुनौती थपेको उनको भनाइ छ ।

ऋण स्थगन र ऋण मोचनका माध्यमबाट कम आयस्रोत भएका मुलुकहरुलाई वित्तीय सहयोग पुर्‍याउनुपर्नेलगायतका सुझाव उनले दिएका थिए ।