२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


जुम्लामा शुरु भयो कोरोनाको विशेष बीमा कार्यक्रम


0
Shares

जुम्ला, बैशाख १२ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले कोरोना (कोभिड–१९) को विशेष बीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

बीमा अवधिभित्र कोभिड–१९ को पिसिआर परीक्षणमा पोजेटिभ रिपार्ट आएका व्यक्ति बीमा भुक्तानी गर्न योग्य हुने सो कम्पनीका कर्णाली प्रबन्धक ऋषिराम पाण्डेले जानकारी दिए । 

व्यक्तिले आफ्नो र परिवारका  सदस्यको बीमा गर्न सक्ने छन् । परिवारको बीमा गर्दा सम्पूर्ण सदस्यको बीमा शुल्क तिर्नुपर्ने छ । उनले भने, “बीमा गर्नुपर्ने व्यक्तिको उमेर तीन महिनादेखि ९९ वर्ष हुनुपर्ने प्रावधान रहेको छ ।” यसमा कुनै सङ्घसंस्थाले पनि आफ्ना कर्मचारीको बीमा गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ ।

रु. एक लाख रकमको बीमा गरेमा बीमा गर्ने सदस्यले रु एक हजार र प्रतिसदस्य थपिँदै गएपछि प्रतिसदस्य रु. ६०० लाग्नेछ । रु. ५० हजारको बीमा गरेमा रु. ५०० बीमाङ्क शुल्क लाग्नेछ भने अरु सदस्य (घरपरिवार) थपिएपछि प्रतिव्यक्ति रु. ३०० थप रकम लाग्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

संस्थागत रुपमा समूहगत कर्मचारीको बीमा गरेमा पनि रु एक लाख रकम बीमाको एकजना कर्मचारीको रु एक हजार बीमा शुल्क तिर्नुपर्ने छ भने अन्य कर्मचारी थपिँदै गएपछि प्रतिकर्मचारी रु. ६०० बीमा शुल्क लाग्ने प्रावधान रहेको छ । रु. ५० हजारको बीमा गरेमा एक कर्मचारी रु. पाँच र कर्मचारी थप भएपछि प्रतिव्यक्ति रु ३०० का दरले बीमा शुल्क थपिने व्यवस्था रहेको छ ।

एउटा घरपरिवार वा सङ्घसंस्थाले ६ जनाभन्दा बढीको बीमा गर्न नपाइने व्यवस्था रहेको बीमा कम्पनीले जनाएको छ । कोरोना रोग बीमा गर्ने व्यक्ति तथा सङ्घसंस्थाले बीमाको प्रस्ताव तथा ग्राहक पहिचान फाराम भरेर बीमा कम्पनीलाई बुझाउनु पर्नेछ ।

भरेका फाराम बीमा कम्पनीको कार्यालय बुझाउन पनि सकिने व्यवस्था गरिएको छ भने अनलाइन फाराम डाउनलोड गरी भरेर फ्याक्स, इमेलबाट पनि पठाउने व्यवस्था गरिएको बीमा कम्पनीले जनाएको छ । बीमाका लागि तिर्नुपर्ने बीमा शुल्क अनलाइनबाट कम्पनीको नजिकैको बैंक खातामा जम्मा गर्न सकिने व्यवस्था रहेको छ । रासस