२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


उपत्यकामा सडक निर्माणको काम ठप्प


0
Shares

काठमाडौं, बैशाख १२ । निर्माण सामग्री ल्याउन नसकिएपछि काठमाडौं उपत्यकामा निर्माणाधीन धेरै सडक अलपत्र बनेका छन् ।

काठमाडौं उपत्यकामा व्यस्त सडकमा ‘लकडाउन’ को समयमा काम शुरु भए पनि केही दिनभन्दा अघि बढ्न सकेन ।

निर्माण सामग्री लिन ललितपुरको लेले र काभ्रेको रोशीखोला पुगेको गाडी सामान नलिई फर्किएको हो ।

निर्माण सामग्री ल्याउन नदिइनुको कारणबारे ती पलिकासँग पत्र लेखेर सोधिएको डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले बताए ।

उनका अनुसार ती पालिकाले वडा कार्यालय र ती वडाका केही व्यक्तिका कारण निर्माण सामग्री लैजान समस्या आएको जानकारी दिएका थिए । उनले भने,  “सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पनि हामीले कुराकानी गरिरहेका छौँ ।”

कतिपय क्रसरमा स्टक नै ढुङ्गा गिट्टी रहेको र उत्पादनका लागि पनि धेरै जनशक्ति नलाग्ने प्रमुख नेपालीले बताए । त्यस्तै सामान ढुवानीका लागि पनि थोरै जनशक्ति भए पुग्ने उनले बताए ।

उनले भने, “चारपाँचजना व्यक्तिले ती स्थानबाट निर्माण सामग्री ल्याउन सक्छन् ।” गत सातादेखि शुरु भएको सडक निर्माण केही दिनमा नै अवरुद्ध भएको हो ।

त्रिपुरेश्वर, पुतलीसडक, गौशालालगायत स्थानका सडकमा आवधिक मर्मत र ह्युमपाइप राख्ने काम शुरु भएको थियो । ह्युमपाइप राख्नका लागि खन्ने काम भने भइरहेको छ ।

काठमाडौंका विभिन्न स्थानमा गरी झण्डै १२ किलोमिटर सडकमा आवधिक मर्मत (ओभर ले) गर्न लागिएको थियो । रासस