Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


भोजपुरमा कोरोना पुष्टि भएसँगै सीमा जोडिएका गाउँपालिका प्रवेशमा रोक


0
Shares

भोजपुर, वैशाख १२ । भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना संक्रमित भेटिएपछि हतुवागढीसँग सीमा जोडिएका स्थानीय तहका नाकामा कडाइ गरिएको छ ।

हतुवागढीसँग सीमा जोडिएको रामप्रसाद राई, पौवादुङमा र आमचोक गाउँपालिकाका नाकामा सुरक्षा व्यवस्था कडा गरिएको हो ।

पौवादुङमा गाउँपालिका–६, ठूलोदुङमा र हतुवागढी गाउँपालिकाको होम्ताङको सिमानामा पर्ने मार्ताङ नाकामा सुरक्षा व्यवस्थामा कडाइ गरिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

त्यस्तै, मार्ताङ नाकासँगै र धनकुटासँग सीमा जोडिएको अँधेरीघाट नाकामा ‘क्वारेन्टाइन’ निर्माण गरिएको र कोही सुरक्षाकर्मीको आँखा छलेर लुकिछिपी गाउँपालिका प्रवेश गरेको पाइएमा २१ दिनसम्म सीमाको क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरेरमात्र गाउँपालिकामा प्रवेश गर्न दिइने गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।

राईले आफ्ना नागरिकलाई जहाँ छन्, त्यहाँ सुरक्षितरुपमा बस्न अनुरोध गर्दै गाउँपालिकाभित्र पनि आवत–जावतमा पूर्णरुपमा बन्द गरिएको बताए ।

अध्यक्ष राईले भने–‘हाम्रो सीमा जोडिएको स्थानीय तहमा कोरोना पुष्टि भइसकेको छ । अब हामी अझ सचेत हुने अवस्था आएको छ । यसर्थ, हतुवागढी गाउँपालिकासँग सीमा जोडिएका क्षेत्रबाट आवत–जावतमा कडाइ गरेका छौं भने गाउँपालिकाका नागरिकलाई अन्य क्षेत्रमा जान पूर्णरुपमा बन्द गरेका छौं । गाउँपालिकाबाहिर रहेका आफ्ना ठाउँका नागरिकलाई गाउँपालिकाले राहतको व्यवस्था मिलाएको छ ।’

सुरक्षाकर्मीसँगै सबै वडाका स्थानीय युवा सीमानाकाको सुरक्षामा रहेको अध्यक्ष राईले जानकारी दिए ।

‘सुरक्षाकर्मीसँगै स्थानीय युवा आफैं आफ्नो ठाउँको सुरक्षामा लागेका छन् । मध्यपहाडी लोकमार्ग पनि हाम्रो स्थानीय तह हुँदै जाने भएकाले त्यहाँ पनि कडाइ गरिएको छ । कतिपय अवस्थामा एम्बुलेन्सको प्रयोग गरेर मानिसहरु ओसार–प्रसार गरेको सुनिएको साथै ढुवानीका साधनले पनि मानिस ओसार–प्रसार गरेको पाइएकाले त्यसो नगर्न हामीले अनुरोध गरेका छौं । त्यस्तो भेटिएमा कारबाहीको दायरामा ल्याइने छ’–अध्यक्ष राईले भने ।

भोजपुरमा एकजनामा कोरानाको पुष्टि

भोजपुरमा पनि कोरोनाभाइरसका एकजना संक्रमित भेटिएको पुष्टि भएको छ ।

भोजपुरको हतुवागढी गाउँपालिकाका २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीकाअनुसार गत फागुन ३० मा साउदी अरबबाट आएका ती युवकमा कोरोना पुष्टि भएको हो ।

भोजपुरमा गरिएको ‘आरडीटी’ परीक्षणमा कोरोना देखिएपछि स्वाब परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा लगिएको थियो । उनलाई धरानमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

युवकका परिवारका दुईसहित अन्य तीनजनाको आरडीटी रिपोर्ट भने ‘नेगेटिभ’ आएको छ । ती युवकलाई शुक्रबार कोभिड अस्पताल विराटनगर लैजाने जनाइएको छ । रासस