
काठमाडौं । एक महिनादेखि जारी लकडाउनका कारण अर्थ व्यवस्थामा परेको प्रभाव तथा त्यसबाट सिर्जित असरका बारेमा निजी क्षेत्रले सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई भेटेर कोरोनाको महामारीबाट उद्योग तथा व्यवसायलाई बचाउन ध्यानाकर्षण गराएका हुन् ।
लकडाउनका कारण मुलुकका उद्योग, कलकारखाना बन्द प्रायः छन् भने आपूर्ति व्यवस्थासमेत प्रतिकूल असर परिरहेको छ ।
कोरोनाका कारण मुलुकको अर्थ व्यवस्था नाजुक बन्दै गइरहेको भन्दै निजी क्षेत्रले आर्थिक क्षेत्रलाई चलायमान हुने वातावरण निर्माण गरिदिन आग्रह गरेको हो ।
निजी क्षेत्रले वित्तीय नीतिमार्फत गरिब, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा स्वरोजगारहरुलाई सहयोग गर्न सरकारलाई सुझाव पनि दिएको छ ।
यसैगरी मौद्रिक नीतिमार्फत औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई सहयोग गर्न निजी क्षेत्रको आग्रह छ ।
लकडाउनका कारण उद्योग व्यवसाय बन्द रहेका भन्दै कर्मचारीको तलब तथा ज्याला भुक्तानी गर्न कठिनाई भएको उद्योगीहरले बताएका छन् ।
उद्योग बन्द रहेको अवधिका लागि ५० प्रतिशत ज्याला भुक्तानी गर्न सक्ने र बाँकी ५० प्रतिशत सरकारले अनुदानमार्फत दिनुपर्ने उनीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्