काठमाडौं । कर्णाली प्रदेश सरकारले लकडाउनका कारण अलपत्र परेका प्रदेशका नागरिकलाई गन्तव्य पुग्न दिने निर्णय गरेको छ ।
प्रदेश बाहिरबाट सवारी साधनको व्यवस्था गरी समूहमा आएकालाई सोझै गन्तव्यस्थल पुग्न दिने, सवारी प्रबन्ध नभएकालाई व्यवस्थापन गरी सम्बन्धित जिल्ला वा पालिकासम्मको गन्तव्यमा समूह बनाई पठाउने व्यवस्था गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।
अन्य प्रदेश वा जिल्लाले ल्याएर यो प्रदेशमा छाडेका र आफ्नो जिल्लासम्म जाने खर्च नभएकालाई कर्णाली सरकारले खर्च व्यवस्था गरी गन्तव्यसम्म पठाउने निर्णय भएको भण्डारीले बताए ।
उपभोक्ताहरुलाई सुविधाजनक तरिकाले बजारबाट उपभोग्य वस्तु लिन उचित समयको प्रबन्ध गर्ने, प्रदेशभरिका सबै कार्यालय सञ्चालन गर्ने र कर्मचारीलाई आवश्यक सुरक्षा प्रबन्ध मिलाइ हाजिर गराउनेसमेत निर्णय भएको छ ।
त्यसैगरी सुरक्षा प्रत्याभूति नियमित सञ्चालन हुनेगरी विकास निर्माणका आयोजनाका निम्ति आवश्यक पर्ने मेसिन, औजार उपकरण तथा श्रमिकको व्यवस्थाका लागि समन्वय र सहजीकरण गरिने प्रदेश सरकारले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्