Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


सुदुरपश्चिममा थ्रोट स्वाब राख्ने भाँडा नहुँदा कोरोना परीक्षणमा समस्या


0
Shares

कैलाली । धनगढीमा दुईवटा प्रयोगशाला स्थापना भएपनि थ्रोट स्वाब राख्ने भाँडा (भिटिएम) नहुँदा कोरोना परीक्षणमा समस्या भएको छ ।

थ्रोट स्वाब राख्ने भाइरल ट्रान्सफर मिडिया (भिटिएम) नभएपछि व्यक्तिको स्वाब नै संकलन हुन नसकेपछि परीक्षणलाई तिव्रता दिन समस्या भएको हो ।

धनगढीको पशु अन्वेषण प्रयोगशाला र सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना गरिएकोमा अहिले पर्याप्त स्वाब नभएकै कारण सेती अस्पतालको प्रयोगशाला बन्द भइसकेको छ भने पशु अन्वेषण प्रयोगशालामा पनि क्षमता अनुसार परीक्षण हुन सकेको छैन ।

प्रयोशालाका इन्चार्ज रमेश शाहीले एकै पटक धेरैको परीक्षण गर्ने क्षमता भएपनि स्याम्पल नहुँदा समस्या भएको जानकारी दिए ।

ल्याब स्थापना भएकै दिनदेखि पर्याप्त स्याम्पल नआएको बताउँदै उनले एकै पटक ९० भन्दा बढी स्वाब परीक्षण सम्भव भएपनि स्वाब नै नभएपछि न्यून संख्यामा परीक्षण भइरहेको बताए ।

सुदूरपश्चिममा मात्रै नभएर देशभरी नै भिटिएमको अभाव रहेको बताउँदै प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख अस्मिता सापकोटाले आपूर्तिका लागि प्रदेश र संघीय सरकारलाई आग्रह गरेको बताइन् ।