
राजन राई (इमेज)
भोजपुर, वैशाख ११ । जिल्ला प्रशासन कार्यालय भोजपुरले उच्च सतर्कता अपनाएर ठूला आयोजनाका कामहरु सञ्चालन भइरहेको बताएपनि कार्यस्थलमा मजदुरहरु जोखिममा रहेका छन् ।
सयौंको संख्यामा रहेका मजदुहरुले सामान्य स्वास्थ्य मापदण्ड पनि नअपनाएको पाइएको छ ।
कोरोना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको ‘लकडाउन’को समयमा पनि भोजपुरमा विभिन्न आयोजनाहरुमा काम चालू छ ।
सदरमुकामनजिकै टक्सार पिखुवाखोला हाइड्रोपावरमा करिब ३०० मजदुर कार्यरत् छन् ।
कार्यस्थलमा हेर्दा मजदुरहरुका लागि तोकिएको न्यूनतम् सुरक्षा साधन, हेल्मेट, पञ्जा, जुत्ताजस्ता सामग्री त त्यस्तै हो, अधिकांश मजदुरले मास्कसमेत लगाउन पाएका छैनन् ।
मजदुरहरुले ठेकेदार कम्पनीलाई कोरोनाको महामारीबाट बच्न मास्क, पञ्जा, स्यानिटाइजरलगायतका सामग्री उपलब्ध गराउन माग गरेपनि पर्याप्त मात्रामा उपलब्ध नगराइएको गुनासो गरेका छन् ।
यता, आयोजनाहरुमा उच्च सतर्कता अपनाएर कामलाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय भोजपुरको दाबी रहेको छ ।
सयौंका संख्यामा यसरी सामूहिकरुपमा काम गरिरहेका मजदुरहरुमा कोरोनालगायतका अन्य सरुवा रोगको संक्रमण भएमा अन्यमा पनि चाँडो फैलने त्रास पनि रहेको छ ।
कार्यस्थलमा अपनाउनुपर्ने सावधानी न अपनाउँदा चोटपटक र ज्यानै जानेसम्मको अवस्था हुँदा मजदुरहरु दोहोरो जोखिममा रहेको पाइएको छ ।
यता, टक्सार पिखुवाखोला हाइड्रोपावरमा कम्पनीले भने सुरक्षा सामग्री उपलब्ध गराएपनि मजदुरहरुले प्रयोग नगरेको भनेर आरोप लगाएको छ ।
जिल्लामा सञ्चालन भइरहेका टक्सार पिखुवाखोला हाइड्रोपावर, वेहेरेखोला, आरीखोला, हङरायोखोला पक्की पुललगायतका योजनाहरुरुमा लकडाउनका समयमा पनि काम भइरहेका छन् ।
उच्च सतर्कताकाबीच काम भइरहेको अफवाह फैलाइएको यस योजनाका कामदारहरु कोरोनाको सन्त्रासमा त छन् नै यसकाबीच कार्यस्थलमा प्रयोग गरिने सुरक्षा सामग्रीको प्रयोग नगर्दा दोहोरो जोखिममा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्