
काठमाडौं, बैशाख १० । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सांसद अपहरण गरेको आरोप लागेको छ । प्रधानमन्त्री ओलीमाथि समाजवादी पार्टी नेपालले आफ्नो पार्टीको सांसद अपहरणको आरोप लगाएको हो ।
महोत्तरी निवासी पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा प्रहरीले अपहरण गरेको समाजवादी पार्टीले आरोप लगाएको हो ।
समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले वैशाख १० गते साँझ ५ बजे पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौंतिर लगेको बताएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा पाण्डेले लेखेका छन्, ‘आज वैशाख १० गते साँझ ५ बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनकालागि काठमाडौं ल्याउँदैछ । सरकारले नै विपक्षी पार्टीका सांसद अपहरण गरेर पार्टी फुटाउन खोज्ने ? यो के हुन लागेको हो ओलीतन्त्रमा ?’
पार्टी नेतृत्वसँग असन्तुष्ट रहँदै आएका यादवलाई पार्टी फुटाएर आएमा मागेको दिने आश्वासन सत्ताधारीहरुले दिएको बताइएको छ ।
सोमबार मात्रै प्रधानमन्त्री केपी ओलीले दल फुटाउन सजिलो हुने अध्यादेश ल्याएका थिए । पार्टीभित्रसमेत छलफल नगरी ल्याएको अध्यादेशबारे नेताहरुले प्रश्न उठाउँदा उनले यो आफ्नो दलका लागि नभएर अरु दलका लागि ल्याएको प्रतिक्रिया दिएको थिए ।
रातारात अध्यादेश जारी गरेको ४८ घन्टा नबित्दै उनीमाथि पार्टी फुटाउन सांसद अपहरण गरेको आरोप लागेको हो ।
प्रतिक्रिया दिनुहोस्