
कैलाली, बैशाख १० । कोरोना भाइरसको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक व्यक्ति बुधबार अस्पतालबाट डिस्चार्ज भएका छन् । दुई पटक लगातार गरिएको नमूनाको परीक्षणमा नतिजा ‘नेगेटिभ‘ आएपछि उनलाई बुधबार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
डिस्चार्ज हुनेमा कञ्चनपुर बेदकोट नगरपालिका–९ का ४० वर्षीय इन्द्र विक हुन् । भारतको उत्तराखण्डमा काम गर्दै आउनु भएका उनी गएको चैत महिनामा पश्चिमी सीमानाका गड्डाचौकी हुँदै आफ्नो घर बेदकोट नगरपालिका आएका थिए । थ्रोट स्वाबको नमूना पोजेटिभ पाइएपछि उनलाई चैत २२ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालले बुधबार प्रकाशित गरेको सूचनामा अहिलेसम्म कोभिड–१९ पोजेटिभ निको भई तीन जना डिस्चार्ज भइसकेको र हाल दुई जना उपचाररत रहेको उल्लेख गरिएको छ ।
हालसम्म ३८ जना शङ्कास्पद बिरामीको उपचार गरिएको समेत सूचनामा जनाइएको छ । लगातार दुई पटक गरिएको नमूनाको परीक्षणबाट नतिजा ‘नेगेटिभ’ आएपछि यसअघि वैशाख ९ गते सोही अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय अमृत शाही अस्पतालबाट डिस्चार्ज भएका हुन् । दुबईबाट नयाँदिल्ली र काठमाडौँ हुँदै आफ्नो घर धनगढी पुग्नुभएका उनलाई कोरोना सङ्क्रमित भएको पुष्टि भएपछि गएको चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । उनी सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना हुने कोरोनाको सङ्क्रमित पहिलो व्यक्ति हुन् ।
सोही अस्पतालमा उपचाररत कैलालीको लम्की चुहा नगरपालिकाका २१ वर्षीय राज विकलाई यही वैशाख ७ गते अस्पतालबाट डिस्चार्ज गरिएको थियो । योसँगै सो अस्पतालमा कोरोनाको उपचारपछि घर फर्किनेको सङ्ख्या तीन पुगेको छ ।
अस्पतालमा कोरोना सङ्क्रमित धनगढी उपमहानगरपालिका–५ की ३४ वर्षीया र कैलाली लम्कीचुहा नगरपालिकाकी ५२ वर्षीया समेत दुई महिलाको उपचार भइरहेको र उहाँहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्