काठमाडौं । कलाको संरक्षण गर्ने निकायभित्रै अमूल्य सिर्जनाको धज्जी उँडेको देख्दा तपाईंलाई कस्तो लाग्ला ? राजधानीको ललितकला प्रज्ञा प्रतिष्ठान पुग्नुभयो भने स्वनामधन्य कलाकारको कला अस्तव्यस्त मात्र हैन, लोप हुने अवस्थामा पुगेको पाउनु हुने छ । भूकम्पलाई कारण देखाइएपनि देशमा प्रज्ञा र चेतनाको अवस्था कहाँ छ भन्ने प्रष्ट हुन्छ ।
राजा वीरेन्द्रको नाममा राखिएको संग्रहालयमा वीरेन्द्रकै हातबाट सिर्जना गरिएको कला कीर्तिको बेहाल छ । यो त उदाहरण मात्र हो । देशका ठूलाठूला कलाकारका अमरकृति यत्र, तत्र, सर्वत्र छरिएका छन् । भण्डारमा मिल्काइएका कलाकृतिको लेखाजोखा छैन । एकसँग अर्को खप्टिएर राखिएका कलाकृति कुन अवस्थामा छन भनेर उधिन्ने काम कसैले गरेको छैन ।
५७ वर्षअघि जन्मिएको संस्थाले आर्जन गरेका उपलब्धी नयाँपुस्ताका लागि संरक्षण हुनेमा शंका उत्पन्न गराउँछन् । कलाका पारखीलाई देखाउन संग्रहालय बनाइयो तर प्रचार नहुँदा अवलोकनका लागि अपवादमा मानिस आउने गरेका छन् । सीताभवनमा रहेको ललितकला संस्था २०६४ सालमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको नामले सञ्चालनमा ल्याइयो ।
कलाको बहुआयामिक विकासको प्रतिवद्धतासहित दर्जनौ पदाधिकारीले नियुक्ति पाए । तर न इतिहास संरक्षण भयो, न वर्तमानमा उम्दा प्रतिभा जन्माउने काम भए । २०७२ सालको भूकम्पलाई कारण बनाएर त झन् कलाकृतिको हुर्मत लिने काम भएको छ । इतिहास नै मेटिने किसिमले कलाको संरक्षण नहुँदा सरोकारवाला निकायको ध्यान जान सकेको छैन् । प्रतिष्ठानका पदाधिकारीहरु भने ठाउँको अभावमा संरक्षण गर्न नसकिएको ललितकला प्रज्ञा प्रतिष्ठान कुलपति कान्छा कर्माचार्यले बताउनुहुन्छ ।
ललितकला प्रज्ञा प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुले बनाएका र कला प्रदर्शनीमा राखिएका कतिपय कलाकृति आफ्नो साथमा लग्ने र कतिपय भने यहीं थुपारेर राख्ने गरेको पाइयो । बनाउँदा बनाउँदै अपुरो छोडिएका कलाकृतिका भग्नावशेषको फोहोरले यो पवित्र ठाउँलाई कुरुप बनाएको देखिन्छ । मुर्ती पोल्ने भट्टामा लागेको माकुराको जालोले कृति निर्माणमा पूर्णविराम लागेको प्रमाणित गर्छ ।
लतिलकलाका विद्यार्थीहरुको धाम मानिने प्रतिष्ठानको यो दुराबस्था देख्दा यस क्षेत्रका साधकको मन भाँचिनु स्वाभाविक हो । संरक्षण गर्ने दायित्व बोकेका पदाधिकारीहरुले इतिहासको नासोका रुपमा रहेका यी शिल्पको संरक्षणलाई पहिलो र अन्तिम प्राथमिकतामा राखेर काम गर्नु वाञ्छनीय छ ।
प्रतिक्रिया दिनुहोस्