
रोल्पा, बैशाख १० । जिल्लाका विभिन्न स्थानका क्वारेन्टाइनमा बसेकामध्ये २५९ जनाको कोरोना भाइरस (आरडिटी) रिपोर्ट नेगेटिभ आएको छ ।
परीक्षण गरेका २९७ मध्ये ३८ जनाको भने रिपोर्ट आउन बाँकी छ । जिल्लास्थित विभिन्न क्वारेन्टाइनमा बसेकामध्ये प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा दुई, रोल्पा नगरपालिकाको कोटगाउँमा ३३, रोल्पा अस्पतालमा सात, सुनछहरी गाउँपालिकामा २९, रुन्टीगढी गाउँपालिकामा १७, लुंग्री गाउँपालिकामा १०९, थवाङ गाउँपालिका नौ र माडी गाउँपालिकामा ५३ जना रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अनिल केसीले जानकारी दिए ।
यता देशका विभिन्न स्थानमा रोजगारीमा गएकाहरु फर्कने क्रम चलेसँगै स्थानीयवासीमा त्रास देखिन थालेको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न इँटाभट्टामा काम गर्ने दुई हजार ३७३ मजदूर जिल्ला फर्केको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।
त्यसरी फर्कने मजदूरमध्ये २५० रुकुम(पूर्व) का र अन्य सबै रोल्पाली रहेको प्रनाउ गुरुङले बताए । यसरी फर्कनेहरुलाई स्थानीय तहको व्यवस्थापनमा क्वारेन्टाइनमा राखिएको गुरुङले बताए ।
रोजगारीका सिलसिलामा जिल्ला बाहिर गएकाहरु भित्रने क्रम जारी रहेको बताइएको छ । काठमाडौँ उपत्यकालगायत देशका विभिन्न जिल्लामा ज्यालामजदूरी गर्न गएका रोल्पालीको संख्या दश हजारभन्दा बढी रहेको बताइन्छ । केही मजदूर भने पैदलयात्रामार्फत पनि जिल्ला भित्रिसकेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्