२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


सडक विभागको लापरबाहीले आँबुखैरेनीमा बाटो भासियो : गृहमन्त्री खाँण


975
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सडक विभागको लापरबाहीले तनहुँको आँबुखैरेनीमा बाटो भासिँदा दुई यात्रुहरुले ज्यान गुमाउनुपरेको बताउनुभएको छ ।

गृहमन्त्रालयमा सोमबार बसेको विपद् कार्यसमितिको बैठकमा गृहमन्त्री खाँणले सडक भासिँदैछ भनेर सडक विभागलाई पहिल्यै जानकारी भए पनि सडक चर्किसक्दासमेत हेलचेक्राँइ गरेको आरोप लगाउनुभयो ।

भूबनोटका कारण नेपाल विपद्को उच्च जोखिममा रहेको भन्दै उहाँले राज्यका सबै निकायले विपद्का घटनाबाट जोगिन समन्वयात्मक भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले विपद् न्यूनिकरणका लागि आवश्यक बजेट छुट्याएर अघि बढ्न सुझाव दिनुभयो । उहाँले हरेक जिल्लामा विपद्को बेलामा सम्पर्कका लागि छुट्टै नम्बर उपलब्ध गराउन माग गर्नुभयो ।

त्यस्त,ै शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शहरी विकास सम्बन्धी करिव साढे ५ सय योजना ५० लाखको मात्र बनाएको भन्दै अर्थमन्त्री जनार्दन शर्माप्रति आक्रोश व्यक्त गर्नुभयो ।

उहाँले राजनीतिक गफ गर्नका लागिमात्रै योजना बनाएको र बजेट छुट्याएको जस्तो नगर्न आग्रह गर्नुभयो । मन्त्री झाँक्रीले देशको योजना व्यवस्थित नभएको, एउटा मन्त्रालयले दिएको नीति, कार्यक्रम अर्को मन्त्रालयले गोप्य राख्ने र बाहिर निकाल्दा छरपस्ट बनाएको आरोप लगाउनुभयो ।

मन्त्री झाँक्रीले विपद्का सबै कार्यक्रम र योजना एकैपटक नभइ दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने ढंगले अघि बढ्नुपर्ने बताउनुभयो ।