गाँजा बेचेर वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिन्छ : एमाले सांसद तामाङ « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


गाँजा बेचेर वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिन्छ : एमाले सांसद तामाङ


832
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले गाँजा बेचेर राष्ट्रको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने दाबी गर्नुभएको छ ।

उहाँले एचआईभी एड्स रोगका बिरामीहरूको दीर्घ जीवनको औषधि पनि गाँजा भएको दाबी गर्नुभयो । आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै तामाङले नेपालको स्वास्थ्य क्षेत्र र ऋण तिर्नका लागि उत्पादन र बिक्री वितरण खुला गर्नुपर्ने माग गर्नुभयो ।

नेपालमा गाँजाबाट बनेको औषधि नपाएर एड्स लागेका व्यक्तिहरू आमरण अनशन बस्न लागेको भन्दै तामाङले गाँजाबाट बन्ने सीभीडी, सीभीडीबाट बन्ने औषधिबाट प्राणघातक रोगहरूको उपचार गर्न सक्ने जिकीर गर्नुभयो । तत्कालका लागि गाँजालाई औषधिका रूपमा प्रयोग गर्न दिनुपर्ने माग गर्दै तामाङले त्यसपछि औद्योगिक प्रयोजनका लागि बहस गरिनुपर्ने बताउनुभयो ।

२ सय लिटरका ४ ड्रम सीभीडी निकाल्ने हो भने मुलुकको सम्पूर्ण पूर्वाधार त्यसैलाई बेचेर बनाउन सकिने भन्दै उहाँले देशलाई लागेको ऋण पनि एकदुई वर्षमै तिर्न सक्ने बताउनुभयो । तामाङले गाँजालाई वैधानिक बनाउनुपर्ने भन्दै संसद् सचिवालयमा गैरसरकारी विधेयक पनि दर्ता गराउनुभएको छ ।