२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


चितवनमा ७ सय २६ जनाको र्‍यापिट टेष्ट


0
Shares

चितवन, बैशाख १० । जिल्लामा विदेशबाट आएका र कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका ७२६ जनाको र्‍यापिट डायग्नोष्टिक टेष्ट गरिएको छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार माडी नगरपालिकामा पाँचजना र राप्ती नगरपालिकाका केही व्यक्तिको अझै परीक्षण गर्न बाँकी छ ।

कोरोना सङ्क्रमणको शुरुआतिमा प्रशासन कार्यालयबाट उपलब्ध गराइएको तथ्याङ्कअनुसार परीक्षणको काम सम्पन्न भएको भए पनि महानगरमा पछिल्लो समय विदेशबाट आएकाको तथ्याङ्क ठूलो सङ्ख्यामा रहेको जानकारी आएको उनले बताउए ।

विदेशबाट नेपाल आएकाको तथ्याङ्क महानगरपालिकामा दुई हजारभन्दा बढी रहेको पछिल्लो तथ्याङ्कले देखाएको र उनीहरुको पहिचान गर्ने काम भइरहेको तिवारीले जानकारी दिए ।

पहिचानका लागि वडाध्यक्षहरुको नेतृत्वमा काम भइरहेको छ । महानगरको ग्रामीण क्षेत्रमा पहिचानका लागि सहज हुने भए पनि शहरी क्षेत्रमा समस्या रहेको उहाँको भनाइ छ ।

पहिचानसँगै उनीहरुलाई भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसिआर परीक्षण गर्ने र र्‍यापिट टेष्ट गर्ने काम भइरहेको तिवारीले जानकारी दिए ।

जिल्लामा यापिट टेष्टका क्रममा दुईजनामा सङ्क्रमण देखिएको र उनीहरुको पिसिआर परीक्षणमा नेगेटिभ देखिएको छ ।

एक महिलामा शङ्कास्पद देखिएकामा उनको नतिजा पोजेटिभ आएको थियो । यसैबीच यहाँ शुरु गरिएको भरतपुर कोभिड–१९ प्रयोगशालामा हालसम्म ३३० वटा स्वाब परीक्षण गरिएको छ ।

जसमध्ये दुईजनाको शङ्कास्पद देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको र त्यहाँबाट कोरोना सङ्क्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

प्रयोगशाला चैत २१ गतेदेखि सञ्चालनमा आएको हो । प्रयोगशाला सञ्चालनमा आउनुअघि र प्रयोगशालामा परीक्षण किट अभाव भएपछि ६३ नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्र्रयोगशाला टेकु र प्रदेश प्रयोगशाला हेटौँडा पठाइएको उनले जानकारी दिए ।

सङ्क्रमित एकै परिवारका दुईजनालाई भरतपुर अस्पतालमा राखी उपचार गरिएको र उनीहरुको अवस्था सामान्य रहेको उनले जानकारी दिए । रासस