तनहुँ । बन्दीपुर गाउँपालिकाले ज्याला मजदुरी गर्दै आएका विपन्न परिवारलाई घर पठाएको छ ।
विभिन्न ठाउँबाट आएर ज्याला मजदुरी गरी बसेका विपन्न परिवारलाई पहिलो चरणको राहत वितरण गरे पनि पछिल्लो समय फेरि खान बस्नको समस्या देखिएपछि उनीहरुलाई घरसम्म पुर्याउने व्यवस्था मिलाइएको हो ।
वडा नम्वर १ मा रहेका विभिन्न इँटाभट्टामा काम गर्ने २६ जनालाई पर्सा, दाङ, ठोरीलगायतका ठाउँसम्म सवारीसाधन रिजर्भ गरी पठाइएको छ ।
गाउँपालिकाको अन्य वडामा पनि विभिन्न ठाउँबाट आएर ज्याला मजदुरी गर्ने परिवार रहेकाले त्यस्ता परिवारको तथ्यांक संकलन गर्ने काम भइरहेको र उनीहरुलाई पनिे घरसम्म जाने व्यवस्था मिलाइने बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए ।
त्यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिकाले पनि नगरभित्र ज्याला मजदुरी गर्दै आएका विपन्न परिवारलाई घरसम्म पठाउने व्यवस्था गरेको बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्